४ बैशाख २०८१, मंगलबार

कालीगण्डकी लोकमार्गमा मोटरेबल पुल ४ वर्षदेखि अलपत्र


पुल File Photo

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापर्वाही र गलत डिजाइनका कारण अलपत्र परेको हो ।

स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपूरै छ । प्राविधिकको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो । पच्चीस मिटर लम्बाइको उक्त पुल रु पाँच करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।

कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयवासीले विरोध गरे पनि इञ्जिनीयरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं २०७४ को अन्त्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले तीन वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

यता कालीगण्डकी लोकमार्ग आयोजना प्रमुख सुबोधकुमार देवकोटाले यो पुलको नयाँ डिजाइन गरेर पुनः निर्माण कार्य शुरु गर्ने तयारी भइरहेको बताए । केही महिनाभित्रै पुलको पुनः निर्माणको काम सुरु हुने उनको भनाइ छ । समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकेदारलाई जिम्मा लगाएर मूल ठेकेदार सम्पर्कविहीन भएका थिए । त्यसपछि पुलको काम अगाडि बढेको छैन । दुई वटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग बर्सेनि खोलाको बहावले कटान गर्दै आएको छ ।

पुल निर्माण गर्न थालिएको जमिन पनि पहिराले कटान हुँदै आएको स्थानीय गङ्गाराज शर्माले बताउनुभयो । शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोला समेत समेट्ने गरी अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए । सङ्घीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताउनुभएको थियो ।

व्यवसायी गौचनका अनुसार काम सुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उनका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै पुनः डिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्न भनेपछि अन्योल थपिएको हो ।

विसं ०७५ मङ्सिरमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौँ मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।

यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल गत वर्ष नै सम्पन्न भएर गाडी गुड्न सुरु भएका छन् । पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोर अन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।

मोदी बेनीदेखि अर्मादीसम्मको खण्ड अझै खुलेको छैन । गत वर्ष भिरबाट डोजर खसेपछि ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । कालीगण्डकी करिडोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने आयोजनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !