७ बैशाख २०८१, शुक्रबार

बजारभित्र डोजर प्रयोग गरेर सडक खन्दा दर्जनौं घर जोखिममा


बजारभित्र डोजर

बाजुरा । बजारभित्र जताततै डोजर प्रयोग गरेर सडक खन्दा बाजुराको सदरमुकाम मार्तडीको केही बस्ती पहिरोको उच्च जोखिमा रहेका छन् । वातावरणीय प्रभाव मुल्याङ्कन तथा योजना बिना विकासका नाममा बस्तीलाई नै जोखिममा राखेर डोजरले सडक खन्दा बस्ती नै जोखिममा परेका छन् ।

बस्तीको बीचमा बिना कुनै स्टमेट, मनोमानी तरिकाले बजारभित्र डोजर लगाएर सडक खन्दा दर्जनौं घरहरु पहिरोको जोखिममा रहेका स्थानीयबासीले बताएका छन । एक हप्तादेखि लगातारको वर्षाका कारण सडकको माथिबाट आएको पहिरोले बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टलगायत धेरैको घर पहिरोको जोखिममा परेको छ ।

शनिबार राति सडक माथिबाट आएको पहिरो घरको दोस्रो र तेस्रो तलाको झ्यालबाट भित्र पसेको छ । आइतबार बिहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीले घर भित्रको सामान उद्धार गरेका छन् । त्यो क्षेत्रमा रहेको १५ परिवार भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

पहिरोले त्रिवेणी साना जलविद्युतको नहर पुरिदा राति देखि नै सदरमुकामलगायत आसपास क्षेत्रको विद्युत्त सेवा पूर्ण रुपमा बन्द भएको छ । थापाबाडा चैडील हुँदै खुला मञ्चको लागि खनिएको सडक बिना प्राबिधिक रुपमा गाउँको बिचमा डोजरले खन्दा सडक माथि र तलका दर्जनौ बस्ति जोखिममा परेका छन् । बालमन्दिर आधारभूत विद्यालय पनि पहिरोको जोखिममा रहेको छ ।

भिरालो जमिनमा मनोमानी तरिकाले डोजर मार्फत सडक खन्दा सकडको माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको स्थानियबासी सन्तोष सिंहले बताए । निर्माणाधीन बसपार्कको वालमा लगाएको तार जालीे बसपार्कमा पुरेको माटोलाई थेग्न नसकेपछि पल्टिएर मूनीको बस्तिनै जोखिममा रहेको बडिमालिका नगरपालिका ९ का स्थानीयबासी चन्द्र थापाले बताए ।

बडिमालिकामा ६ परिवार जोखिममा

लगातारको वर्षाका कारण बाजुराको बडिमालिका–२ माझीगाउँको दलित बस्तीका ६ परिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । कमल नेपाली, जया दमाइ, जंग नेपाली लगाएत ६ दलित परिवार तलबाट पहिरो गएपछि पहिराको उच्च जोखिममा रहेहो वडाध्यक्ष डम्बर महतले जानकारी दिएका छन् ।

बस्ती तल बुढीगंगा नदीले लगातार कटान गरिरहेको र बस्ती विस्तारै बस्न लागेको छ । अघिल्लो साउन २५ गते आएको बुढीगंगाको बाढीले तीब्र कटान गरका कारण यस वर्ष पनि कटान पुनः शुरु भइसकेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !