७ बैशाख २०८१, शुक्रबार

मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग


मेची पुल फाइल फोटो

झापा । पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो ।

भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुईलेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो ।

मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र मालसामानको ढुवानीमा सहज हुने रेग्मीले बताउनुभयो । पहुँच मार्ग नबन्दा मालसामान ढुवानी गर्ने र सवारीका साधनलाई ओहोरदोहोरमा कठिनाइ थियो ।

गलगलियाका पूर्वमुखिया गणेश रायले पहुँच मार्ग रु आठ करोड ५० लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो । मेची पुल नेपाली भूभागमा रहेको छ । पुल जोड्ने भारतीय भूभाग पश्चिम बङ्गाल र बिहार प्रान्तको सिमानामा पर्ने भएकाले पहुँच मार्ग कता लैजाने भन्नेमा भारतीयहरुबीच विवाद थियो । अहिले पहुँुच सडक विहारतिर लगिएको छ ।

नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष रेग्मीले नेपाली पक्षले मेची पुल निर्माण गरिसकेको तीन वर्षसम्म भारतीय पक्षबाट पहुँच मार्ग नबनाइँदा नेपाली व्यवसायी र भद्रपुरबासीले दवाव सिर्जना गरेका कारण अहिले सडक बनेको बताउनुभयो ।

पहुँच मार्ग छिटो निर्माण गर्नका लागि प्रदेशसभा सदस्यद्वय ओमप्रकाश सरावगी र बसन्त बानियाँ, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष रेग्मीलगायतले भारतीय सरोकारवाला पक्षलाई भेटेर सो सडक बनाउन पटकपटक दवाव दिनुभएको थियो ।

पहुँच सडक बनेपछि बाह्रै महिना मेची पुल प्रयोगमा आउने र त्यसबाट भद्रपुर भन्सारमार्फत व्यापार बढ्ने अपेक्षा गरिएको छ । यसअघि सडक नबन्दा कोइला, क्लिङ्कर, पेट्रोललगायतका ठूला मालबाहक ट्रकद्वारा आयात गरिने सामग्री मेची भन्सार हुँदै नेपाल ल्याइने गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !