८ बैशाख २०८१, शनिबार

विकास निर्माणको काममा युवाको सक्रियता


गलेश्वर, २४ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।

वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको रु पाँच लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रेललगायत युवाले अहिले धमाधम खहरेखोलामा ग्याविन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रबहादुर कुवँरले जानकारी दिनुभयो । वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाको रु पाँच लाखको लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पु¥याएपछि सोही सडकको मर्मतमा युवा जुटेका हुन् । बन्दाबन्दीको समयमा घरमा बिनाकाम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवालाई नै दिइएको उहाँले बताउनुभयो ।

बाहिरबाट मजदूर ल्याएर काममा लगाउँदा कोरोना सङ्क्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवा पनि बेरोजगार बस्नुपर्ने भएकाले गाउँकै युवालाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्त समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताउनुभयो । अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याविन जाली भर्नुका साथै स्काभेटरको माध्यमद्वारा खहरेखोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडकको मर्मत तथा सरसफाइ गरिने छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !