७ बैशाख २०८१, शुक्रबार

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि स्थानीयवासी खुशी


णनीतिक सडक सञ्जाल शुभारम्भ

दमौली । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुईवटा रणनीतिक सडक आयोजना छनोट भएको छ । तनहुँका दुई रणनीतिक सडक योजना छनोट भएसँगै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नं २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका दुई रणनीतिक सडक आयोजनाका लागि रु ४०/४० करोड बजेट विनियोजन हुने भएको छ ।

व्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुशी व्यक्त गर्नुभएको छ । “वर्षौँदेखिको हाम्रो सपना वर्तमान सरकारले पूरा गर्ने भएको छ, अब कामले पनि गति लिन अपेक्षा लिएका छौँ”, उनले भने ।

व्यास र भानु नगरपालिकाको सीमाबाट शुरु हुने उक्त मार्ग गोरखाको पालुङटारसम्म जोडिनेछ । कूल ३२ किमी दूरीको उक्त सडकको १२ किमी दूरी कालोपत्र सम्पन्न भइसकेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उक्त सडक कालोपत्रपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताए ।

यसैगरी तनहुँ क्षेत्र नं २ अन्तर्गत तनहुँको गाईघाटबाट गल्याङसम्म जोड्ने सडक योजना छनोट गरिएको छ । तनहुँको देवघाटबाट शुरु हुने उक्त मार्ग ऋषिङ, घिरिङ, स्याङ्जाको चापाकोट हुँदै गल्याङसम्म पुग्नेछ । उक्त सडकको १७० किमी छ । हाल उक्त सडकको डिपिआर गर्ने काम शुरु भएको तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिए ।

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल-सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थललाई जोड्ने जस्ता विषय समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !