७ बैशाख २०८१, शुक्रबार

रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण


जाजरकोट । नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् ।

भिरालो जमिन, कडा चट्टान भएको ठाउँमा छिट्टै सडक बन्ला भनेर कल्पनासमेत नगरेका स्थानीयवासीले गाउँमै छिट्टै सडक पुगेपछि खुशीयाली छाएको बताएका हुन् । घरछेउमै मोटरबाटो बनेपछि स्थानीयवासी गदगद भएको वडाध्यक्ष भद्रबहादुर ध्यारले भन्नुभयो । सडक नहुँदा यहाँका सर्वसाधारण पाँच घण्टा हिँडेर चौखा आएर गाडी चढ्ने गर्दथे । डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने सडक भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जनयुद्धकालमा सबैभन्दा सुरक्षित बाटो मात्र होइन, सयौँ योजना र बैठक गर्ने क्षेत्रका रूपमा समेत यो ठाउँ चर्चित छ ।

सडक निर्माणका लागि प्रदेश सरकारको रु एक करोड ४७ लाख लागतमा खड्का कृष्ण कन्स्ट्रक्शनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घनमिटर माटो कटिङ तथा १० हजार घनमिटर कडा चट्टानको भाग कटिङ गर्नुपर्ने उल्लेख छ । सडक बनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न तथा स्थानीयवासीलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी गोपाल ध्यारले बताउनुभयो । यो गाउँ अझै सञ्चार, सञ्चारमाध्यमको पहुँचबाट टाढा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !