१३ बैशाख २०८१, बिहिबार

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज, सम्भावित दुर्घटनावाट बच्न विशेष सतर्कता


मेलम्ची खानेपानीको सुरुङ फाइल फोटो

सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोग अन्तर्गत ४ जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेट लगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

“विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो”, आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले भने ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।

खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजल सम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमता अनुसार पानी नछाडिने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !