१३ बैशाख २०८१, बिहिबार

पूर्वाधार विकासले मुलुकको मुहार फेरियो : मन्त्री नेम्वाङ


वसन्त नेम्वाङ फाइल फोटो

ओखलढुङ्गा । सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताउनुभएको छ । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप गतिकासाथ अघि बढाएको उहाँले बताउनुभयो । वर्तमान सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण पूर्वाधार विकासका कामका बारेमा मन्त्री नेम्वाङले सो अवसरमा जानकारी गराउनुभएको थियो ।

वर्तमान सरकारले दैनिक तीन किलो मिटरभन्दा बढी बाटो स्तरोन्नती गर्दै मुलुकभर एक हजार ५४४ किलो मिटर सडक तीन वर्षमा निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । सरकारले गरेका ठूला भौतिक पूर्वाधारका कामले मुलुक समृद्धिको दिशामा अघि बढेको उहाँको बनाइ छ । “सडक, पुल, भवन मात्रै होइन पूर्वाधार विकासका समग्र काम द्रुतगतिमा अघि बढेका छन् । यिनै कामले आज मुलुकको मुहार फेरिन थालेको छ”, उहाँले भन्नुभयो ।

प्रदेश–१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको चौतर्फी विकासको नेतृत्व आफूले गरिरहेको बताउनुभयो । विगतमा सांसद मात्रै हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए पनि राज्यमन्त्री भएपछि समग्र जिल्लाको विकासमा लागि परेको उहाँले बताउनुभयो । प्रदेश सरकारले भौतिक विकासका कामलाई प्राथमिकतामा राखेर प्रदेशका १४ वटै जिल्लामा काम गरिरहेको उहाँको भनाइ थियो ।

संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलले गाउँ र शहरको सम्बन्ध प्रगाढ बनाउन गाउँको उत्पादन शहरमा पुग्ने वातावरण बन्नुपर्ने बताउनुभयो । “जबसम्म शहरको विस्कुटसँग गाउँको स्कुस साट्ने अवस्था आउँदैन तबसम्म जनताले सोचेको र चाहेको जस्तो समृद्धि आउँदैन”, ढुङ्गेलले दुर्गम गाउँको विकासले मात्रै मुलुकको समृद्धि देखाउने भएकाले तीनवटै तहका सरकार मिलेर विकासका काममा जुट्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !