११ बैशाख २०८१, मंगलबार

कालीगण्डकीमा स्नान गर्न पैदलमार्ग निर्माण


कालीगण्डकी

रामपुर । रामपुर नगरपालिकामा पैदलमार्ग निर्माण गरिएको छ । कालीगण्डकीमा स्नान तथा दर्शन गर्न सहज होस् भनी वडा नं ६ स्थित कौवा क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको हो । यस क्षेत्रमा रहेको कोप्चे सामुदायिक वन क्षेत्रभित्र पर्ने करीब २३० मिटर लम्बाइ रहेको पैदलमार्ग निर्माण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । कौवाघाटमा परम्परादेखि नै स्थानीयवासीले नदी स्नान गर्छन् ।

नदीमा स्नान गर्न जान ठाडो, ओरालो र सानो गोरेटो बाटो हँुदा आवतजावत गर्न निकै समस्या परेपछि नगरपालिकाको सहयोगमा पैदलमार्ग निर्माणपछि सजिलो भएको स्थानीयवासी सीता देवकोटाले बताउनुभयो । “नदी नुहाउन जान सानो गोरेटो बाटो हँुदा निकै कष्ट थियो, वन क्षेत्र पनि रहेकाले आतजावतमा भक्तजनले समस्या भोग्दै आएका बेला अहिले पैदलमार्ग बनाइएपछि नदी स्नान गर्न सजिलो परेको छ” उहाँले भन्नुभयो । “कालीगण्डकीको तटदेखि कौवाको पुच्छार भागसम्म २२७ मिटर सिँढी बनाएर पैदलमार्ग बनाइएको निर्माण समितिका अध्यक्ष शङ्कर पोखरेलले बताउनुभयो

पैदलमार्ग तथा पैदमार्गसँग माथिल्लो भागमा जोडिएका सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु आठ लाख विनियोजन गरेको थियो । सो बजेटबाट करीब तीन लाखको बजेटमा पैदलमार्ग निर्माण सम्पन्न भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको कोप्चेघाटसम्म पुग्ने पैदलमार्ग निर्माणपछि अब कालीगण्डकीको किनारमा स्नानस्थल र पैदलमार्गको वरिपरि बार लगाउने योजना छ । यहाँ अहिले पैदलमार्ग निर्माण गरिएपछि कालीगण्डकी नदी आसपासका क्षेत्रमा अवलोकन गर्न जाने आन्तरिक पर्यटकको चहलपहल छ ।

नगरपालिका तथा वडा कार्यालयले कोप्चेघाटसम्म पुग्ने पैदलमार्ग निर्माणपछि सोही ठाउँमा धार्मिक तथा पर्यटन विस्तारका लागि दुर्गा मन्दिर निर्माण गरिने भएको छ । बाघ लुक्ने ओढारलाई संरक्षण गर्दै बाघ आकारमा मन्दिर निर्माणका लागि शिलान्यास समेत गरिसकिएको छ । दुर्गा मन्दिर निर्माणपछि गौशाला–तातोपानी धामसम्म कालीगण्डकीको किनारैकिनार पैदलमार्ग निर्माण गरिने भएको छ । सोही क्षेत्र नजीकै कालीगण्डकीको तटको ज्याग्दी वनमा चिडियाखाना निर्माणको काम थालनी भएको छ ।

कालीगण्डकीसँग जोडिएका महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले जोड दिएको उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !