८ बैशाख २०८१, शनिबार

चम्पादेवी गुरुयोजना : भौतिक पूर्वाधार विकासले पायो गति


चम्पादेवी गुरुयोजना

काठमाडौँ, ६ भदौ । पछिल्लो समय काठमाडौँको दक्षिण क्षेत्रमा रहेको चम्पादेवीका भौतिक पूर्वाधारको विकासले तीव्रता पाएको छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक हिसाबले महत्व बोकेको चम्पादेवीमा शहरी विकास मन्त्रालयले झण्डै रु ६० करोड विनियोजन गरेसँगै यहाँको विकासले तीव्रता पाएको हो ।

काठमाडौँ उपत्यका तथा त्यस वरपरका हिमाल तथा सगरमाथाको समेत दृश्यावलोकन गर्न सकिने भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुँदै गएको छ । पर्यटकीय गन्तव्यको विकाससँगैै स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ ।

छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकासले गति लिन थालेको हो । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

संस्थाका अध्यक्ष जनक तामाङ चम्पादेवी क्षेत्रको समग्र विकासका लागि जलसम्पदा वातावरण तथा संरक्षण कोष नेपालको सहकार्यमा आफ्नो संस्थाले पहल गरिरहेको बताउनुहुन्छ । “चम्पादेवी पार्क निर्माण गुरुयोजनाअन्तर्गत शहरी विकास मन्त्रालयले झण्डै ६० करोड रकम विनियोजन गरेको छ, उक्त रकमबाट चम्पादेवी क्षेत्रको विकास निर्माणले तीव्रता पाएको छ,”–उहाँ भन्नुहुन्छ ।

सात वर्षमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाअनुसार हाल चम्पादेवी क्षेत्रको ७५ रोपनी क्षेत्रफलमा तारजाली लगाउने, स्वीमिङ पुल निर्माण, हनुमान मूर्ती, रामसीताको मूर्ती, मन्जुश्रीको मूर्ती, शिवपार्वतीको मूर्ती, बुद्धको मूर्ती र नवग्रको मूर्ती राख्ने काम सम्पन्न भइसकेको छ । यस्तै, फुटपाथमा ढुङ्गा विच्छाउने काम, मन्दिर वरपर तारजाली राख्ने, नौ किलोमिटर ट्रेकिङ रुट निर्माण समेत भईसकेको छ । उक्त कार्य सम्पन्न गर्नका लागि झण्डै रु चार करोड रकम लागेको अध्यक्ष तामाङ बताउनुहुन्छ ।

दक्षिणकाली नगरपालिका–१ र किर्तिपुर नगरपालिका–६ मा अवस्थित चम्पादेवी क्षेत्रमा सेमिनार हल, ध्यानकेन्द्र, चिडियाखाना, पिकनिक स्थल, पानीट्याङ्की निर्माण गरिनेछ । यस्तै चम्पादेवी मन्दिर निर्माणका लागि पुरातत्व विभागले रु २० लाख रकम विनियोजन गरेको छ । चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भएर पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ । उक्त मार्ग करीब नौ किलोमिटरको छ । सामान्य रुपमा वरपर ढुङ्गाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ ।

अध्यक्ष तामाङ फागुन चैतको समयमा सगरमाथाको अवलोकन सूर्योदय र सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिने बताउनुहुन्छ । त्यहाँबाट लाक्पादोर्जे र गौरीशङ्करलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ । वनजङ्गलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो । वनजङ्गल र जडिवुटीको प्रचुर सम्भावना भएकाले उक्त क्षेत्रको संरक्षणका लागि जलसम्पदा वातावरण तथा संरक्षण कोषले समेत पहल गर्दै आएको छ ।

कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव एवम् पर्यटन सूचना केन्द्र किर्तिपुरका सचिव वीरेन्द्र शाक्य चम्पादेवी क्षेत्रको विकासले किर्तिपुर र दक्षिणकालीको पर्यटन विकासमा कायपलट ल्याउने बताउनुहुन्छ । मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन् । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !