७ बैशाख २०८१, शुक्रबार

कालोपत्रको माग राख्दै स्थानीयवासी आन्दोलित


काठमाडौँ, २७ साउन । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम अघि बढाउनुपर्ने माग गरिएको छ । स्थानीयवासी शङ्कर श्रेष्ठले सडक व्यवस्थित नहुँदा जीवनयापन असहज भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले धेरैपटक दबाब दिँदा पनि सरकारको कुनै ध्यानाकर्षण भएन ।” हिलाम्मे सडकका कारण बाइसधारामा आउने पर्यटकमा नकारात्मक प्रभाव परेको यहाँका अर्का स्थानीयवासी हरिदास थापाले बताउनुभयो । “यो क्षेत्रको सडकको स्तरोन्नति गर्ने आश्वासन धेरै जनप्रतिनिधिले दिए तर उनीहरुले आफ्नो बाचा पूरा गर्न सकेनन्”, उहाँले भन्नुभयो ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हड्पेर बिना लालपुर्जा किनबेचसमेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हड्पेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो । एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । ती टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।

विसं २०१७ सम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र सो विद्यालयपछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हड्पेर बसेकालाई सरकारले घरबापत आवश्यक मुआब्जा २०७१ सालमै दिइसकेको छ । मुअब्जा पनि लिने सार्वजनिक जग्गा पनि अझै आपूmहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा वर्षाैंदेखि बसोबास गर्दै आएका स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

हाल सडक विस्तारका लागि खनिएको जग्गामा कुनै बेला पाटी, विद्यालय रहेको र विभिन्न जिल्लाबाट काठमाडाँैै आउने सर्वसाधारण बस्ने गरेका थिए । बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हड्पेका हुँदा अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयवासीको भनाइ छ ।

बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि घटेको छ । ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हड्पेर बसेकालाई विस्थापन गराउनका लागि स्थानीयवासीले पटकपटक माग गर्दै आइरहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !