१३ बैशाख २०८१, बिहिबार

मुडे–चरीकोट सडक : पाँच वर्षमा पनि बनेन ३० किमी


सडक

चरिकोट, साउन २२ । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

दुई वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी मुढेबाट चरिकोटसम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको भएता पनि पाँच वर्ष बितिसक्दासमेत काम सम्पन्न हुनसकेको छैन । समयमै काम नगरेपछि निर्माण कम्पनीले विभिन्न बहानामा पटक–पटक समय थप गर्दै आइरहेको छ । पटक–पटक समय थप भएता पनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा दोलखाका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी विसं २०७२ भदौमा सम्झौता गरी शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी कम्पनीले जिम्मा लिएको थियो । सडक अलपत्र पारेको र नागरिकलाई दुःख दिएको भन्दै दोलखाका नागरिक समाजले सङ्घर्ष समिति नै गठन गरी पटक–पटक आन्दोलनसमेत गर्दै आएका छन् । नागरिकको चर्को आन्दोलनपछि केही समय काम गरेजस्तो गरे पनि निर्माण कम्पनीले निरन्तर काम गर्न सकेको छैन ।

सडकको अवस्था र नागरिकले भोग्नुपरेको समस्याको विषयमा निर्माण कम्पनीलाई जानकारी गराई पटक–पटक सडक सुधारका लागि अनुरोध भइरहेको र बेवास्ता गरे आन्दोलनको तयारी भइरहेको नागरिक समाज दोलखाका संयोजक चीरञ्जीवी मास्केले बताउनुभयो । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई निर्माणकार्यलाई गति दिन नसक्दा वर्षाको समयमा दोलखाबाट राजधानी काठमाडाँै जोडने एक मात्र सडकखण्ड अस्तव्यस्त बन्नुका साथै नागरिकले कष्ट व्यहोर्न बाध्य भएका छन् ।

भारतीय एक्जिम बैंकको रु एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाडीचौर–चरिकोट सडकखण्ड पहिलो चरणको खाडीचौरबाट मुडेसम्मको काम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणको २५ किलोमिटर सडक कालोपत्र गरी अन्तिम चरणमा पुगे पनि मुडेबाट चरिकोटसम्म ३० किलोमिटर सडकखण्डको काममा कुनै प्रगति हुनसकेको छैन । तीस किमि सडकमा कटिङ फिलिङको काम सकी केही क्षेत्रमा सव वेको काम गरेको भएतापनि वर्षाका कारण सडक हिलाम्मे बनेको छ ।

निर्माण कम्पनीलाई समयमै काम गर्नका लागि पटक–पटक ताकेता गर्दा पनि काम नगरेको र बेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालयले १० प्रतिशत जरिवाना लगाएको छ । निर्माण कम्पनीले काम समयमा सम्पन्न नगरेका कारण रु आठ करोड जरिवाना तिर्न बाँकी रहेको भए पनि रु ३५ लाख ९१ हजार निर्माण कम्पनीबाट रकम असुली गरिसकेको आयोजना प्रमुख दीप वाराहीले जानकारी दिनुभयो ।

वर्षायाममा कालोपत्रको काम गर्न नमिल्ने भएपछि हाल मर्मतसम्भारको काम मात्र भइरहेको उहाँले बताउनुभयो । निर्माणको चरणमा रहेका र समय अवधि सकिएका तथा निर्माणका काम सम्पन्न नभएका आयोजनालाई एक वर्षको सयम अवधि थप भएसँगै आयोजनाको समय अवधि पुस २५ गतेसम्मका लागि थप भएको छ । निर्धारित समयमै काम सम्पन्न गराउनका लागि आफूले पटक–पटक आग्रह गरिरहेको र नियमित अनुगमन भइरहेको आयोजना प्रमुख वराहीले बताउनुभयो ।

बिरामीलाई हेलिकोप्टर चार्टर्ड
राजधानी जोडिने एक मात्र सडक निर्माण कम्पनीले अलपत्र परेका कारण जटिल प्रकारका बिरामी हेलिकोप्टर चार्टर्ड गरी काठमाडाँै उपचार गर्न जानुपर्ने बाध्यता रहेको छ ।

हिमाली जिल्ला दोलखाको दुर्गम क्षेत्रका बिरामीलाई काठमाडौँसम्म पु¥याउनका लागि समस्या हुने गरेको छ । जिल्लामा आइसीयूसहितको अस्पताल नभएको र जटिल रोगी, गर्भवती तथा सुत्केरीलाई बाटोकै कारणले गर्दा हेलिकोप्टर चार्टर्ड गर्नुपर्ने बाध्यता छ । हेलिकोप्टर चार्टर्ड गर्न नसक्ने सामान्य परिवारका बिरामी सडकका कारण राजधानी सुविधासम्पन्न अस्पतालमा जान ढिला हुने कारणले ज्यानसमेत जाने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !