१३ बैशाख २०८१, बिहिबार

छेला–लिप्ना सडक निर्माण अगाडि बढ्दै


सडकखण्ड पुनःसञ्चालन

कञ्चनपुर, २० साउन । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य दु्रतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १८ करोड ४९ लाखको लागतमा सडक कालोपत्र गर्ने कार्य अगाडि बढाइएको हो ।

आब २०७६÷७७ मा सडक निर्माणको कार्य ठेक्का प्रक्रियामार्फत अगाडि बढाइएको छ । सडकमा कालोपत्रका लागि बेस राख्ने कार्य अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख धीरेन्द्र भट्टले बताउनुभयो । उहाँका अनुसार आगामी पुस मसान्तभित्र सडक कालोपत्र गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

दैजी लिप्ना सडकको कूल लम्बाई २२ किलोमिटर भए पनि दैजीदेखि छेलासम्मको साढे पाँच किलोमिटर कालोपत्र भइसकेको छ । सडकमा पुलपुलेसा, कल्भर्ट निर्माण गर्ने कार्यसमेत अगाडि बढाइएका छन् ।

कञ्चनपुर–डडेल्धुरा जोडने छोटो मार्गका रुपमा रहेको दैजी–लिप्ना सडक निर्माण भएपछि कम समयमै दूरी तय गर्न सकिने भएको छ । सडक डिभिजन कार्यालयले २०७४ सालमा सो सडक निर्माणको कार्य सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेको थियो । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले भन्नुभयो, “कञ्चनपुरदेखि डडेल्धुरा पुग्न पहिला छदेखि आठ घण्टासम्म लाग्ने गरेकामा यस सडकबाट अब चारदेखि पाँच घण्टामै पुग्न सकिने छ ।”

कञ्चनपुर जिल्लाका महत्वपूर्ण पर्यटकीय क्षेत्र लिङ्गा, घटाल थान र बेदकोटलाई यस सडकले जोड्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सहज रुपमा अवलोकन गर्न पाउने छन् । कञ्चनपुरको बेदकोट धार्मिक क्षेत्र र डडेल्धुराको पर्शुराम धार्मिक क्षेत्रसम्म पुग्नसमेत सडकले सघाउ पु¥याउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !