११ बैशाख २०८१, मंगलबार

मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा झर्ने


मेलम्ची खानोपानी आयोजना

काठमाडौं, असार २२। काठमाडौँवासीका लागि धेरै नै सुखद समाचार सुन्नमा आएको छ । अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई महिनामा सुन्दरीजलमा पानी आउने पक्का भएको हो ।

समितिका अनुसार आइतबार बिहान ९ बजेबाट सुरुङमा पानी पथान्तरणको काम सुरु भएको छ । हाललाई निर्माणाधीन हेडवक्र्सभन्दा सय मिटरमाथि अस्थायी ड्याम बनाएर डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको छ । पानी पथान्तरण गरी सुरुङ परीक्षणका लागि दुई महिना लाग्ने र त्यसपछि सुन्दरीजलमा निरन्तर पानी आउने खानेपानी मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले दुई महिनापछि उद्घाटनको मिति तय गर्ने बताएका छन् । उनले भने, “मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ, प्राविधिक रूपमा निक्कै कठिन काम सम्पन्न भएका छन्, बाधा अवरोध चिरेर निरन्तरको प्रयासले हामी सफल भएका हौँ । अब सरकार र नेतृत्वसँग छलफल गरेर उद्घाटनको मिति छिट्टै तोक्छौँ ।”

मेलम्ची खानोपानी आयोजना विकास समितिले हाललाई अस्थायी डाइभर्सनबाट पानी ल्याउने काम भएपनि पुस मसान्तसम्म निर्माणका सबै काम सम्पन्न हुने बताएको छ । आयोजना प्रमुख तिरेश खत्रीले भन्नुभयो, हेडवक्र्स निर्माणको ठेक्का अवधि पुस मसान्तसम्म छ तर कामका हिसाबले छिटो सकिन्छ, ७० प्रतिशत काम सम्पन्न भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !