सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना Nepalpatra
१८ मंसिर २०७७, बिहिबार

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना


नेपाल-भारत सीमा नाका

सर्लाही । सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल-भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ ।

सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्गलबार र आज ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुला नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको जिसस सभापति चौधरीले बताउनुभयो ।

सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताउनुभयो । मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उहाँको भनाइ थियो ।

सीमा नाका सिल भएका कारण स्थानीय स्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले बताउनुभयो । निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई समयमै सीमा नाका खोल्न सङ्घीय सरकारसँग पटकपटक गुहार गरे पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेकोे उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !