८ बैशाख २०८१, शनिबार

आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि


आयोडिनयुक्त नूनले ढिके नुन विस्थापित

लहान । सिरहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको हो । वर्षौंदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।

आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे व्यापक प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा गरिएको कडाइ र सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि सीमावर्ती ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको हो ।

पछिल्लो समय यस क्षेत्रका नागरिकमा दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको बरियापट्टी गाउँपालिका–४ का सरोज कुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आयो नुनको फाइदा बारे थाहै थिएन्, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै आएका थियौ, अब भन्ने आयोडिनयुक्त नुनकै प्रयोग गर्न थालेका छौं ।”

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गाउँमै आयोडिनयुक्त नुनको महत्व, उपयोगिता र फाइदाबारे गाउँ गाउँमा प्रचारप्रसार गरेर बिक्री गर्न थालेपछि यसप्रति उपभोक्ताको आकर्षण बढेको उहाँको भनाइ छ ।

आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै जान्छ भने मानसिक रुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकाहरुमा पढ्ने रुचीको विकास हुने हुँदा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिकाका शम्भु यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘करिब दुइ वर्षअघिसम्म गाउँका अधिकाँश व्यक्तिले भारतीय ढिके नुनको प्रयोग गर्थें, तर अब अधिकाँशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन् ।”

विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानु पर्ने भएकाले पनि स्थानीयवासी ढिके नुन नै बढी प्रयोग गरिने गरेको थियो । अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको उहाँको भनाइ छ । प्रहरी प्रशासनले पनि भारतीय नुन आयातमा कडाइ गरेपछि भारतीय ढिके नुन बन्द भएको उहाँको भनाइ छ । आयोडिनयुक्त नुन बजारमा रु.२० मा बिक्री भइरहेको छ ।

“भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी, औरही, भगवानपुर, सखुवानन्कारकट्टी गाउँपालिकालगायत स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो”, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहानका प्रमुख जितेन्द्र साहले भन्नुभयो, ‘‘भारतीय नुन प्रयोग भइरहेको स्थानहरुमा आयोडिनयुक्त नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।” स्थानीयवासीमा आयो नुनप्रति आकर्षण बढेसँगै सिरहामा आयोडिनयुक्त नुनको माग पनि बढेको उहाँको भनाइ छ ।

प्रमुख साहका अनुसार दुई तीन वर्ष अघिसम्म सिरहामा वार्षिक ४०/४५ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो समय वार्षिक एक लाख बोरा आयो नुन खपत हुन थालेको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक लाख २०० बोरा आयो नुन खपत भएकोमा आर्थिक वर्ष २०७६÷०७७ मा एक लाख ५०० बोरा आयो नुन बिक्री भएको प्रमुख साहको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !