१३ बैशाख २०८१, बिहिबार

उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह


sherdhan-rai

विराटनगर, १ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको स्पष्ट गर्नुभएको छ ।

आज बिहान ८ बजे दिनुभएको सन्देशमा उहाँले भन्नुभएको छ, ‘भारतमा बढ्न सक्ने सम्भावित सङ्क्रमण र हाम्रो खुला सीमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनै पनि नाम वा बहानामा हाम्रो दक्षिणतर्फको नाकाहरुबाट हुन सक्ने आवागमनलाई कडाइ गर्नुपर्नेछ । यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मूल कडी हो ।’

सामाजिक दूरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन, केही लक्षण र आशंका भए तत्काल स्वास्थ्य परीक्षण गर्न र होमक्वारेन्टाइनमा बस्न तथा थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेशनमा बस्न प्रदेशवासीमा उहाँले आग्रह गर्नुभएको छ ।

प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुटेकाले नै महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको बताउँदै उहाँले आगामी दिनमा पनि यस्तो सम्झदारी र एकता निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !