१२ बैशाख २०८१, बुधबार

प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पुरस्कृत


मोरङ । प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ ।

सम्मानित हुनेमा गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङग (उदयपुर), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् । सबै सम्मानित चारै जनालाई एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । विसं २०७७ मा कोरोना महामारीका कारण वितरण गर्न नसकिएको पुरस्कारसहित यस वर्ष चार जनालाई वितरण गरिएको बताइएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उनीहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सो अवसरमा उहाँले पत्रकारिता क्षेत्र मर्यादित, जिम्मेवारीपूर्ण एवं विश्वसनीय हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान पत्रकारिताले भावीपुस्तालाई मार्गदर्शन दिने खालको हुनुपर्नेमा जोड दिदैं उहाँले समाजलाई सही मार्गदर्शन गर्न सकेमा मुलकमा गणतन्त्र र सङ्घीयता बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले व्यवसायिक पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पुर्याएबापत पुरस्कार स्थापना गरिएको स्पष्ट पार्दै यो सङ्घीयताको उपहार भएको बताउनुभयो । उहाँले मिडिया हाउस राष्ट्र, जनता, कानून र संविधानप्रति प्रतिवद्ध हुनुपर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोरोनाबाट मृत्यु भएका दुई पत्रकारका परिवारलाई राहत प्रदान गर्ने जानकारी दिदैं प्रदेशका १४ जिल्लाका पत्रकार महासङ्घका भवन निर्माण तथा कार्य सञ्चालनमा सहयोग प्रदान गरेको बताउनुभयो । उहाँले सञ्चारकर्मीले तथ्यका आधारमा सत्य समाचार पस्कनु पर्नेमा जोडदिदै पत्रकारिता क्षेत्रको विकास र उन्नयनमा प्रादेशिक सञ्चार प्रतिष्ठान कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

पुरस्कृत पत्रकार गोविन्दचन्द्र क्षेत्रीले पत्रकारिता क्षेत्रबाट समाजको हित एवं योगदान पुर्याउन आग्रह गर्दै पत्रकारहरुको अवस्था दयनीय रहेको गुनासो गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्न मन्त्रालय प्रतिवद्ध रहेको छ भन्नुभयो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले कोरोनाबाट सङ्क्रमित भै अस्पतालको आइसियुमा उपचार गरेका पत्रकारलाई आवश्यक नगद सहयोग प्रदान गर्ने जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले व्यवसायिक पत्रकारिताबाट मुलुकमा समृद्धि कायम हुने विचार व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !