८ बैशाख २०८१, शनिबार

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द


कोरोना भाइरस

लहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।

सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताउनुभयो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताउनुभयो । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

गायक तथा सामाजिक अभियानकर्मी सदाको निधन

गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको निधन भएको छ । सिरहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय सदाको सोमबार साँझ निधन भएको हो । लामो समयदेखि सामाजिक तथा सङ्गीत क्षेत्रमा क्रियाशील सदाको मृत्यु भएको छ । पछिल्लो तीन÷चार दिनदेखि बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित सदाको मृत्यु भएको मृतकका जेठान अरुण सदाले जानकारी दिनुभयो ।

अचानक बेहोस भएका उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गोलबजारस्थित भूमिजा हस्पिटलमा ल्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लाने क्रममा लहान पुग्दानपुग्दै उहाँको बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन् । उहाँ सेभ द चिल्ड्रन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काठमाडौँ कार्यालयमा बसेर काम गर्दै आउनुभएको थियो ।

केही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आउनुभएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो । उहाँसँगै उहाँकी श्रीमती शान्ति सदा पनि सङ्गीत क्षेत्रमा सक्रिय रहनुभएको थियो । सदा दम्पतीका दर्जन बढी मैथली तथा नेपाली गीतको लेखन, गायन र आफैँले अभिनय गरेको म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !