७ बैशाख २०८१, शुक्रबार

जन्तेढुङ्गा गाउँपालिकामा नेकपाको श्रम शिविर


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

खोटाङ, २३ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णयअनुसार नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविरको सञ्चालन गरेको हो । जिल्ला सचिवालय समितिको निर्णयलगत्तै असोज ३० गतेको गाउँपालिका समितिको अर्को निर्णयअनुसार उक्त गाउँपालिकाको सबै वडामा एकै दिन श्रम शिविर सञ्चालन गरिएको गाउँपालिका समिति अध्यक्ष यामकुमार राईले बताउनुभयो । श्रम शिविरअन्तर्गत सडक तथा गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ ।

नेकपाको गाउँपालिका समितिको समन्वयमा सम्बन्धित वडा समितिको अगुवाइमा वर्षाका कारण बिग्रे÷भत्केका सडक तथा गोरेटो बाटो मर्मतसम्भार गरिएको जनाइएको छ । नेकपाले वडा नं १ देवीस्थानमा मैनटारदेखि सिक्किमटार जोड्ने सडक मर्मत गरेको छ । सो सडक वर्षाको पहिराले भत्काएको थियो । यस्तै देवीस्थानकै खनियाबासदेखि रिला जोड्ने सडक र गोरेटो बाटो मर्मत गरिएको छ । वडा नं २ बोपुङमा ह्युराङदेखि पाँडेगाउँ जाने सडक मर्मत गरिएको नेकपाले जनाएको छ । बङ्शिलाघाट जोड्ने ह्युराङ–पाँडेगाउँ सडक गत कात्तिक ९ गते परेको भारी वर्षाले भत्किएको थियो । नेकपाले सञ्चालन गरेको श्रम शिविरका माध्यमबाट पहिराले भत्काएको सडकको पर्खाल लगाइएको छ ।

यस्तै, वडा नं ३ काहुलेमा सालम्बुदेखि बुँवा खोलासम्मको सडक मर्मत गरिएको छ । वडा नं ४ डम्वर्खुशिवालयमा कुइभिर भञ्ज्याङखर्क सडकखण्डको एक किलोमिटर खण्ड मर्मतका साथै नाली काट्ने काम गरिएको छ । वडा नं ५ चिसापानीमा सुरुङगेलदेखि मैदानसम्मको दुई किलोमिटर लामो पुरानो गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ । वडा नं ६ दिप्लुङमा ऐतिहासिक एवम् पर्यटकीयस्थल जन्तेढुङ्गाको परिसर सरसफाइ गरिएको नेकपा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । श्रम शिविरमा ज्येष्ठ नागरिक ७६ वर्षीय लक्षुमान रोइलाको समेत सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !