७ बैशाख २०८१, शुक्रबार

पर्यटन पदमार्गको निर्माण तीव्रगतिमा : स्थानीयवासी हर्षित


पर्यटन पदमार्ग

खोटाङ, ३० जेठ । साकेला गाउँपालिकाले पर्यटकीयस्थल टेम्केडाँडा जोड्ने पर्यटन पदमार्ग निर्माण शुरु गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ पुग्ने पदमार्ग निर्माण शुरु गरिएको हो ।

मानेभञ्ज्याङदेखि चखेवाभञ्ज्याङबीचको करिब सात किलोमिटर दूरीमध्ये हालसम्म करिब पाँच किलोमिटर खण्डमा ढुङ्गा सोलिङ गर्ने काम सकिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “गाउँपालिकाको स्वीकृत कार्यक्रमअनुसार पर्यटन पदमार्ग निर्माण गर्न प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख र आर्थिक वर्ष २०७६÷७७ मा रु ४० लाख रकम प्राप्त भएको थियो”, उहाँले भन्नुभयो, “क्रमागत योजनाअन्तर्गत पर्ने पदमार्गको एक मिटर २० सेन्टीमिटर चौडाइमा ढुङ्गा सोलिङ गर्ने गरी पदमार्ग निर्माणको काम थालिएको हो ।”

पदमार्गमा ढुङ्गा सोलिङको काम सकिएपछि ठाउँ–ठाउँमा विश्रामस्थल, पाटी, खानेपानीलगायतका संरचना निर्माण गरिने जनाइएको छ । यस्तै सो पदमार्गमार्फत टेम्के तथा सो आसपासका रमणीयस्थलमा सजावट गर्ने, हरियाली पार्क बनाउने लक्ष्य राखिएको गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । भविष्यमा पदमार्ग आसपासमा होमस्टे (घरवास), घोडाबाट यात्रा गर्ने÷गराउने जस्ता व्यवसायमूलक सेवा सञ्चालनको वातावरण सिर्जना हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । पदमार्गका माध्यमबाट पर्यटकीयस्थल मानेभञ्ज्याङस्थित मपारुङ भिरलाई समेत पर्यटन पदमार्गका रुपमा जोड्ने लक्ष्य राखिएको छ ।

कृत्रिम ताल निर्माणको काम थालिएको अर्को पर्यटकीयस्थल तावाभञ्ज्याङबाट पनि टेम्के पुग्ने छुट्टै पदमार्गको अवधारणा अघि सारिएको छ । तावाभञ्ज्याङमा प्रदेश नं १ कै नमूना ताल निर्माण गर्ने गरी काम थालिएको उक्त तालको लम्बाइ ६५० मिटर र चौडाइ ५०० रहने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको तावाभञ्ज्याङ प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्न समेत सकिने ठाउँमा पर्दछ । कृत्रिम ताल निर्माणपछि टेम्के, मैँयूलगायत प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न यसले मद्दत गर्ने गाउँपालिका प्रमुख खड्काको भनाइ छ ।

तीन हजार १० मिटर उचाइ भएको पर्यटकीयस्थल टेम्केडाँडामा हिउँदयाममा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो आवागमन हुने गरेको छ । जैविक विधिताले भरिपूर्ण टेम्केडाँडाबाट सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमालीशृङ्खलाका साथै तराईका फाँटको दृश्यावलोकन सजिलै गर्न सकिन्छ । हरेक वर्षको वैशाख १ गते, बालाचतुर्दशी, रामनवमीलगायतमा मेलासमेत लाग्ने टेम्केडाँडासम्म पुग्ने पदमार्ग निर्माणको कामले तीव्रता पाएसँगै स्थानीयबासिन्दा हर्षित बनेका छन् । दूरीका हिसाबले नजिकै रहेको टेम्केडाँडा सहजरूपमा आवतजावत गर्ने बाटो नभएका कारण समस्या झेल्दै आएका स्थानीय बासिन्दा ढिलैगरी भए पनि पदमार्ग निर्माणको कामले तीव्रता पाएपछि हर्षित बनेका हुन् ।

टेम्केडाँडामा निर्माणाधीन किराँत गणतान्त्रिक भ्यूटावरको काम भने अहिले अलपत्र अवस्थामा छ । विसं २०६६ मा निर्माण शुरु भएको सो भ्यूटावरका लागि जग खन्नेबाहेक अन्य काम अघि बढेको छैन । टेम्केडाँडामा निर्माणाधीन ३४ तले भ्यूटावर ३२ मिटर गोलाइ र ३६५ फिट अग्लो बनाउने लक्ष्य राखिएको छ । अहिलेसम्म टेम्केडाँडादेखि मुनि आधार शिविरमा बेसक्याम्प र सात दशमलव पाँच किमीको कच्ची सडक मात्र निर्माण भएको छ ।

टेम्केडाँडामा भ्यूटावर निर्माणको काम थालेपछि सबैलाई चासोको विषय बनेको थियो । तत्कालीन नेकपा माओवादी नेताको परिकल्पनामा निर्माणकार्य थालिएको भ्यूटावरले निरन्तरता नपाएपछि स्थानीयवासी अन्योलमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !