व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने Nepalpatra व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने
४ माघ २०७७, आइतबार

व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने


पर्यटकीय बस

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित दोस्रो वार्षिक साधारणसभामा कोरोनाका कारण तहसनहस बनेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु अहिलेको आवश्यकता भएकामा जोड दिइएको छ ।

पर्यटन क्षेत्रलाई कोरोनाको महामारीले नराम्रोसँग प्रभावित बनाएको जनाउँदै कार्यक्रमका वक्ताहरुले सङ्कटमा परेको पर्यटन व्यवसायलाई सरकार तथा निजी क्षेत्र सबैको साथ र सहयोगमा बचाउनुपर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२०२२ का संयोजक जुद्धबहादुर गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशको पर्यटनमा दैनिक रु १३ करोड घाटा व्यहोर्नुपरेको बताउनुभयो । धराशायी व्यवसायलाई जोगाउन प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई चाँडै कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटक सवारीको आयु २० वर्ष निर्धारण गरिनु व्यावहारिक नभएको तर्क गर्दै राम्रो व्यवस्थापन एवं हेरविचार गरी सञ्चालनमा आएका सवारी साधन ३०–३५ वर्षसम्म पनि राम्रो अवस्थामा रहने दाबी गर्नुभयो । पर्यटन बजार खुले पनि अझै पर्यटकीयस्थल नखोलिनु व्यावहारिक नभएको बताउँदै अध्यक्ष गुरुङले सङ्घले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ यही मङ्सिर २२ गतेदेखि स्याङ्जा, पाल्पा, बुटवल, नवलपुर, चितवनलगायत स्थानमा प्रवद्र्धनात्मक भ्रमण गर्न लागेको जानकारी दिनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष रामहरि शर्माले सरकारले कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई टिकाउने खालका कार्यक्रम ल्याउनुपर्ने तथा मौद्रिक नीतिले साना तथा मझौला व्यवसायीलाई समेट्नुपर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायतले कोरोना कहरसँगै पोखरासहित समग्र देशकै तहसनहस पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । पोखरामा पर्यटन यातायात समितिका नाममा विसं २०५७ मा सातजना व्यवसायी मिलेर सङ्गठित बन्दै गएको संस्था हाल नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका नाममा रहेको र यसमा ८६ व्यवसायी आबद्ध भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !