७ बैशाख २०८१, शुक्रबार

खुल्यो बागलुङ बजार


बागलुङ बजार

बागलुङ, २५ कात्तिक । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ मा गरिएको बन्दाबन्दी आजदेखि हटेको छ । बन्दाबन्दी अन्त्य भएसँगै सेवा, बजार र यातायात पूर्ववत् रुपमा खुलेको छ । सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले यही १७ गतेदेखि एक साताका लागि बागलुङ बजारमा बन्दाबन्दी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले तत्काललाई बन्दाबन्दी हटेपनि केही प्रतिबन्धहरु भने कायमै रहेको जनाएको छ । अर्को निर्णय नहुञ्जेलसम्मका लागि शैक्षिक संस्था, तालिम, सम्मेलन, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, पुस्तकालयलगायत भीडभाड हुने क्षेत्र बन्द रहने जनाइएको छ ।

होटल, रेष्टुराँमा पनि सामाजिक भोज, भेला आदि गर्न नपाइने भएको हो । छोटो तथा लामो दुरीका सवारीसाधन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार चलाउन प्रशासनले अनुरोध गरेको छ । सबै सेवा, व्यवसाय तथा कार्यहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ ।

यस्तै नजिकिँदै गरेका तिहारलगायतका पर्व आफू रहेकै स्थानमा घर परिवारका सदस्यसँग मात्र सिमीत रही मनाउन प्रशासनले आग्रह गरेको छ । देउसीभैलोसहित आतिसबाजी, पटकालगायत विष्फोटक पदार्थको बिक्री र प्रयोगमा पनि रोक लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !