६ बैशाख २०८१, बिहिबार

मनाइयो शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती


दशरथ चन्द

बैतडी । शहीद दशरथ चन्दको ११९ औँ जन्मजयन्ती आज मनाइएको छ । चन्दको जन्मजयन्ती उनकै जन्मभूमी बैतडीको दशरथचन्द नगरपालिकामा मनाइएको हो ।

कोरोना महामारीका कारण अन्य कार्यक्रम गर्न नसके पनि उहाँको शालिकमा माल्यार्पण गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दका अनुसार शहीद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोट र दशरथचन्द नगरपालिका–४ गढीमा रहेको शहीद चन्दको शालिकामा माल्यार्पण गरिएको हो ।

जन्मजयन्तीको अवसरमा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको सहभागिता थियो । तत्कालिन जहानीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने चार शहीदमध्ये दशरथ चन्द पनि एक हुन् ।

शहीद दशरथ चन्दको जन्म विसं १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।

उहाँका पिता सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छन् । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।

त्यसअघि उनले नेपालगञ्ज, भारतको अल्मोडा, कुमाउँ, नैनीतालजस्ता ठाउँमा पढेका थिए । त्यही बेला उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थालेका हुन् । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनी सक्रिय रूपमा सहभागी थिए ।

विसं १९९० मा बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथ चन्दको पहिलो पटक भेट भएको थियो । विसं १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगेका थिए । त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाएका थिए । उनी त्यही बेला नेपाल प्रजा परिषद्को कार्यकर्ता रहेका थिए ।

दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलमा परेका थिए । तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । प्रतिष्ठानले हरेक वर्ष शहीद चन्दको सम्झनामा बैतडीमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !