८ बैशाख २०८१, शनिबार

दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु


पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण

जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिनुभयो । पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा भत्किएका सडक मर्मतका लागि बोलपत्र आह्वान गरिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण सम्पन्न भएसँगै सडक डिभिजन कार्यालय चौरजहारीले छेडाबाट खलङ्गासम्मको दर्जन ठाउँमा भत्किएको सडक निर्माणका लागि प्रक्रिया शुरु गरेको हो । भेरी करिडोरअन्तर्गत छेडा–खलङ्गा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छ वटा पुल निर्माण भएका हुन् । दुई चरणमा मर्मत गर्नका लागि काम शुरु गर्न लागेको डिभिजन प्रमुख भट्टले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आएको लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण अगाडि बढेको छ । नलगाडको झुर्मेखोलामा मोटरेबल पुल निर्माण पूरा भइसकेको छ । नलगाड नदीमा काम शुरु गर्न लागिएको छ । यस सडकखण्डको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सात वटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आह्वान भई काम शुरु भएको डिभिजनका प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाडखोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो ।

त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, छलगाड र करपगाडमा पनि मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको छ । सडक निर्माण शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि सडक कालोपत्रको काम शुरु गरिएको छ । अहिले रिम्नासम्म कालोपत्र गर्नका लागि कच्ची कटान गरी ग्रेट मिलाउने काम भएको छ ।

यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात सञ्चालनमा निकै कठिन भइरहेको छ । पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालनमा सहजता आउने स्थानीयवासीको भनाइ छ ।

पाँच वर्षअघि कालोपत्र भएको यहाँका सडकमा पुल नहुँदा खोलामा यात्रामा अवरोध हुँदै आएको थियो । नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने छ ।

त्यस्तै भेरी ‘ए’लगायतका आयोजनाको डिपिआरको कामका लागि सामग्री ल्याउन सजिलो भएको छ । त्यस्तै पश्चिम छेडाबाट जुनिचाँदे गाउँपालिका र कालीमटी–लिम्सासम्म यातायातका साधन सञ्चालनका लागि यातायात व्यवस्था विभाग कर्णाली प्रदेशले स्वीकृती दिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । केही ठाउँमा मर्मत गर्नुपर्ने टिप्पणीसहित यातायात सञ्चालनका लागि अनुमति दिइएको छ । अनुमति दिएसँगै नयाँ भाडादर कायम गरिएको छ । मध्यपहाडी लोकमार्गको काममा समेत सहजता आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !