११ बैशाख २०८१, मंगलबार

हेटौँडा अस्पतालमा डायलासिस सेवा


हेटौँडा अस्पताल

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।

अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस शुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडाँै, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।

अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताउनुभयो । अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा शुरु गरिएको हो । नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

यसैबीच वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार हेटौँडा–४ हुप्राचौरमा वृक्षरोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले शहरमा वृक्षरोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताउनुभयो ।

२१ गतेसम्मका निषेधाज्ञा थप

मकवानपुर जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै पुनः यही असार २१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रशासनअनुसार निजी सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ भने सार्वजनिक यातायात बन्द रहने छ । थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । कस्मेटिक पसल र सुनचाँदी पसल पनि जुत्ता चप्पल, फर्निचर पसलसरह मध्याह्न १२ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको छ । अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णयबमोजिम नै कायम गरिएको छ । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएको भए पनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप सात दिन थप्ने निर्णय भएको जिप्रका मकवानपुरले जनाएको छ ।

रुपाको न्यायका लागि विरोध प्रदर्शन

काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि दबाब सिर्जना गर्ने भएका छन् । रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि बुधबार विरोध कार्यक्रम हुने भएको छ । जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामै विरोधका कार्यक्रम गर्ने दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताउनुभयो । सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रम जारी रहने उहाँले बताउनुभयो ।

मकवानपुरमा क्रियाशील १० दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छानबिन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी सङ्घसंस्थाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !