, एकैदिन रु १६ लाखको बोका बिक्री

एकैदिन रु १६ लाखको बोका बिक्री

दमौली, २६ जेठ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन् ।

पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आबद्ध कृषकले २६ वटा बोयर बोका बिक्री गरेको अगुवा युवा कृषक शिवकुमार आलेले जानकारी दिनुभयो । पाथर्दीका १३ जना कृषकले पालेका बोयर बोका प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिक्री गरिएका बोका २६ किलोदेखि ४१ किलोसम्मका छन् ।

“बन्दाबन्दीकै बीचमा पनि बोयर बोका बिक्री गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालन नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो ।” गरिबीको रेखामुनि रहेका यहाँका कृषक बाख्रापालनले ऋणमुक्त हुने प्रयासमा रहेको उहाँले बताउनुभयो । “एकैदिन रु १६ लाखको कारोवार हुँदा यहाँका कृषकलाई ठूलो उत्साह मिलेको छ”, उहाँले भन्नुभयो ।

यहाँका कृषकले जेठ महिनाको पहिलो साता पनि रु पाँच लाख बराबरको खसी बिक्री गरेका थिए । त्यसक्रममा पोखरास्थित खसी बजारका व्यापारीले गाउँमै आएर खसी किनेर लगेका थिए । “यहाँको खसीको मासु गुणस्तरीय भएका कारण व्यापारी खसी किन्न गाउँसम्मै आउँछन्,” उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण खसी बिक्रीमा समस्या भइरहेको थियो तर अब बन्दाबन्दीकै बीचमा पनि खसी बिक्री हुन थालेको छ ।”

बोयर जातको खसी उत्पादनका लागि यहाँ पाथर्दी बोयर बाख्रा स्रोत विकास केन्द्र स्थापना गरिएको छ । केन्द्रमा अष्ट्रेलियाबाट तीन वटा बोयर जातको व्याड बोका खरिद गरेर ल्याइएको छ । कृषकले पालेका खसीलाई बोका लगाउन केन्द्रले रु ५०० लिने गरेको केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिनुभयो ।

पाथर्दीमा उन्नत जातको बाख्रा उत्पादन केन्द्र बनाउने गरी खरी बाख्रामा नश्ल सुधार कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम लागू गर्न लागिएको अगुवा कृषक आलेले जानकारी दिनुभयो । यस ठाउँबाट वार्षिक करिब रु डेढ करोडको खसी बिक्री हुने गरेको छ । खसी बिक्रीबाट एक जना कृषकले कम्तीमा रु तीन लाख र बढीमा रु १३÷१४ लाख आम्दानी गर्ने गरेका छन् ।

यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ । युवा कृषक आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । विसं २०६८ मा सब ओभरसियरको पढाइ उत्तीर्ण गर्नेबित्तिकै उहाँले व्यावसायिकरुपमा बाख्रापालनमा शुरु गर्नुभएको हो । बुबाले परम्परागतरुपमा बाख्रापालन गर्दै आएकामा उहाँले त्यसलाई व्यावसायिक रुप दिनुभएको थियो ।

सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उहाँले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही ठाउँकै खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

उहाँहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापालगायत व्यावसायिक बाख्रापालनमा आबद्ध हुनुहुन्छ ।

परम्परागतरुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले विसं २०७१ देखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएका छन् । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहनुभएको छ ।