७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशको बर्खे अधिवेशन : पोखरा सभागृहमा तयारी


पोखरा, ९ जेठ । गण्डकी प्रदेशसभाको यही जेठ ११ गतेका लागि तय भएको बर्खे अधिवेशनका लागि यहाँको सभागृहमा आवश्यक तयारीको काम तीव्र पारिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सामाजिक दूरी कायम राख्न पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवन साँघुरोे भएपछि सरकारले उक्त सभागृहमा बजेट अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ ५ गते प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको अधिवेशन पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गर्नुभएको थियो ।

अधिवेशन आह्वानलगत्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट प्रदेशसभा सचिवालयले सदन सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय कार्य शुरु गरेको हो । जेठ ११ गते आइतबार दिनको १ः०० बजेका लागि बैठक आह्वान गरिएपछि सभागृहमा आवश्यक तयारीको काम भइरहेको र शनिबार साँझसम्ममा सबै काम पूरा हुने प्रदेशसभाका निमित्त सचिव राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभागृहमा न्यूनतम सामाजिक दूरी कायम गरी प्रदेशसभा सदस्यको सिट व्यवस्थापन गरिने छ । प्रत्येक लहरमा दुई वटा कुर्सी छाडेर डेढ मिटरको फरकमा प्रदेशसभा सदस्यलाई बस्ने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

त्यसैगरि पहिलो लहरपछि प्रत्येक एक लहर खाली गरिने छ भने प्रत्येक सदस्यका लागि अधिवेशन भर उहाँहरुको नाम उल्लेख भएको एउटै सिटको व्यवस्था हुनेछ । बैठकका लागि सभागृहको मुख्य सभाहलमा सभामुख कक्ष, सभामुख ड्यास, हलमा ४०० वटा नयाँ कुर्सी जडान गर्नुका साथै रङ्गरोगन र कार्पेटिङ, तथा साउण्ड सिस्टम राख्ने काम युद्धस्तरमा भइरहेको छ ।

त्यसैगरी खानेपानी प्रबन्ध, शौचालय तथा सभागृहको झ्याल ढोका मर्मत र रङरोगनको काम भइरहेको छ । “हालको प्रदेशसभा भवनमा सामाजिक दूरी कामय गर्न कठिनाइ हुने भएकाले सभागृहमा सरकारले बैठक आह्वान गरेको हो”, सचिव न्यौपानेले भन्नुभयो, “बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारीको काम प्रदेशसभा सचिवालले तीव्ररुपमा गरिराखेको छ ।”

प्रदेश सरकारले आगामी असार १ गते नयाँ आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट अघि सरकारले नीति तथा कार्यक्रम सदनमा पेश गरी पारित गर्नुपर्दछ । कोभिड–१९ को सङ्क्रमबाट जोगिन हालको भवन साँघुरो भएपछि सरकारले १६ रोपनी क्षेत्रफलमा फैलिएको एक हजार ५०० जना क्षमताको सभागृहमा आवश्यक सुरक्षा उपाय अवलम्बन गरी बजेट अधिवेशन शुरु गर्न लागेको हो । सभागृहको सुरक्षाका लागि दुई दिनअघिबाट सुरक्षाकर्मी परिचालन गरिएको छ भने परिसरभित्रका छ स्थानमा सुरक्षा कक्ष स्थापना गरिएको छ ।

दैनिक ६० जना मजदूरले बिहान सबेरैबाट राति ११ः०० बजेसम्म काम गरिरहेका छन् । भौतिक पूर्वाधार मन्त्रालयको रु २५ लाख लागतमा सभागृहको मर्मत कार्य अघि बढाएको बताइन्छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुख नेत्रनाथ अधिकारीलगायतले सभागृहको निरीक्षणपछि बैठक सञ्चालनको निष्कर्षमा पुग्नुभएको थियो । भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बैठक सञ्चालनका लागि आवश्यक संरचना तयार गरेर व्यवस्थितरुपमा सञ्चालनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले नयाँ स्थानमा अधिवेशन सञ्चालन गर्न लागिएकाले उल्लेख गर्दै छोटो समयमा समेत आवश्यक तयारी गरेर कुनै कमी हुन नदिइने स्पष्ट पार्नुभयो । बैठक प्रदेशसभामा ६० सदस्य छन् । गण्डकी प्रदेशको राजधानी शहर पोखरा बजारको मध्य मागमा विसं २०४५ सालदेखि सञ्चालनमा आएको दीपेन्द्र सभागृहको विसं २०६२÷०६३ को जनआन्दोलनपछि पोखरा सभागृह नामाकरण गरिएको थियो । हाल महानगरपालिकाको स्वामित्वमा रहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !