८ बैशाख २०८१, शनिबार

अर्गेलीबाट उत्पादित कागज जापान निर्यात


असोज २१, काठमाडौँ | केही वर्षअघिसम्म गाईबस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले जापानी गुणस्तरको कागज उत्पादन हुन थालेको छ । जंगलमै उच्च गुणस्तरको जापानी कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मूल्यसमेत आकास्सिएको छ । अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको तीनजुरे गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रशोधन प्रालिले गत वर्षदेखि जापानी गुणस्तरको कागज उत्पादन गर्न थालेको हो ।

उत्पादित कागज अहिले जापानतर्फ निर्यात भइरहेको प्रालिका अध्यक्ष बलमान गुरुङले बताउनुभयो । जंगलमा प्राकृतिकरूपमा उम्रिएको अर्गेलीको पाटबाट जापानी यान(पैसा) आउन थालेपछि यस क्षेत्रका लेकाली गाउँका किसान अर्गेलीको व्यावसायिक खेतीमा लागेका हुन् । अहिले तेह्रथुमबाट मात्र वार्षिक २५ हजार केजीभन्दा बढी लोक्ताको पाट उत्पादन हुने गरेको छ । अर्गेलीको व्यावसायिक खेतीमा लागेका किसान मिलेर देउरालीमा नेपाली हाते कागज उद्योगसमेत सञ्चालन गरेका छन् । लोक्ताको पाट स्थानीयस्तरमा प्रशोधन भएर कागज उत्पादन हुन थालेपछि यस क्षेत्रमा त्यसै खेर गएको लोक्ता र अर्गेलीले अन्तर्राष्ट्रिय बजार पाएको छ ।

तेह्रथुम र संखुवासभाका सामुदायिक तथा निजी वन क्षेत्रमा एक हजार ५०० भन्दा बढी किसानले अर्गेलीको व्यावसायिक खेती गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा गरी ८९१ हेक्टरमा अर्गेलीको व्यावसायिक खेती हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवमा २५ हजार केजी अर्गेलीको पाट उत्पादन भएको थियो । पहिले जंगलमा प्राकृतिकरूपमा मात्र रहेको अर्गेलीको २०५५-५६ सालतिरबाट किसानले यसलाई व्यावसायिक बनाएको वसन्तपुर टुटेका कृषक रामबहादुर गुरुङले बताउनुभयो । एक दशकअघिसम्म जंगलमा गोठालो जानेहरूले दाम्लो, नाम्लो, डोरी बाट्नेलगायतका काममा मात्र अर्गेली र लोक्ताको पाटलाई प्रयोगमा ल्याउँथे तर अहिले सोही पाटबाट हाते कागज उत्पादन गरी अन्तर्राष्टिय बजारमा समेत निर्यात हुने थालेको हो ।

“उत्पादित कागजलाई बजारको कुनै समस्या छैन” प्रालिका व्यवस्थापक टीकाराम दाहालले भन्नुभयो । शुरुका दिनमा एक्लाएक्लै अर्गेलीको खेती शुरु गरेका किसान अहिले आएर सामुदायिक वनको माध्यमबाट सामूहिक खेतीमा लागेका छन् । “सामूहिक खेती गर्दा धेरै कुराको सजिलो हुँदोरहेछ”, प्रालिका अध्यक्ष गुरुङले भन्नुभयो । उद्योगले गत वर्षमात्र रू २५ लाखको कागज उत्पादन गरेर बिक्री गरेको थियो । खेर जाने अर्गेलीबाट नेपाली हाते र उच्च गुणस्तरको जापानी कागज बन्न थालेपछि किसानले वर्षभरि नै आम्दानी र रोजगारी पाएका छन् । अर्गेली रोप्ने, काट्ने, पाट काड्ने, पाटको बोक्रा खुर्किने, सुकाउने, पेल्ने, कागज बनाउनेलगायतका काममा १०० भन्दा बढी स्थानीयवासीले रोजगार पाएको प्रालिका व्यवस्थापक दाहालले बताउनुभयो ।

अर्गेली खेतीमा नयाँ सम्भावना देखिएपछि यस क्षेत्रका धेरै युवा विदेशिनबाट रोकिएको तिनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताउनुभयो । यहाँ उत्पादित कागज व्यापारी आङ्दावा शेर्पामार्फत जापानसम्म पुग्ने गरेको छ । कागज उत्पादनको तुलनामा माग बढी भएकाले माग धान्न गाह्रो भएको अध्यक्ष गुरुङले बताउनुभयो । प्रालिले अहिले दैनिक ४०० प्रति जापानी र ७०० प्रति हाते गरी ११ सय प्रति कागज उत्पादन गर्दै आएको छ । उद्योग स्थापना भएपछि सामुदायिक वनमा आबद्ध निम्न आय भएकाहरूले अर्गेली संकलन, ओसारपसार तथा त्यसको प्रशोधन र उत्पादनमा समेत काम पाएका छन् ।

जंगलमा संकलन गरेर ल्याएको अर्गेलीको पाटलाई उद्योगले रू ६० प्रतिकेजीका दरले खरिद गरिरहेको छ । किसानले अर्गेलीको व्यावसायिक खेतीका लागि देउरालीमा वार्षिक ३० हजारभन्दा बढी बिरुवासमेत आफै उत्पादन गर्दै आएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !