८ बैशाख २०८१, शनिबार

सहकारी संस्थाले चेक धरौटी राखेर कर्जा दिंदै


कर्जा

माघ ५, काठमाडौं । काठमाडौंका कतिपय सहकारी संस्थाले चेक धरौटी राखेर कर्जा दिने गरेको पाइएको छ । काठमाडौंका केही सहकारीले नियमविपरीत ब्याजसहितको चेक अग्रिम रूपमा लिएर कर्जा दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । ऋण लिनेबाट कर्जा नउठेपछि सहकारी संस्थाले प्रहरीमा दिएको उजुरीले यससम्बन्धी तथ्य खुलेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरीले भने सहकारीका त्यस्ता जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । ‘सहकारीहरूले नै चेक बाउन्सका उजुरी गर्न थालेका छन्,’ महानगरीय प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘बुझ्दै जाँदा त्यही चेक राखेर कर्जा देखिएको खुल्यो, यस्तो घटनाको हामीले अनुसन्धान गर्दैनौँ ।’ पछिल्लो समय सहकारीको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई छ । तर, स्थानीय तहले कारबाही गर्नुको साटो अनुसन्धानका लागि यस्ता विवाद उल्टै प्रहरीमा सिफारिस गर्दै आएका छन् ।

चेक बाउन्समा उजुरीमा कतिपय सहकारीबाट समेत आउने गरेको परिसरका डिएसपी कृष्ण चन्दको भनाइ छ । हेर्न नमिल्ने किमिसका उजुरीहरू आफूहरूले नलिने उनले बताए । सहकारी विभागका रजिस्ट्रार डा। टोकराज पाण्डे सहकारीले चेक धितो राखेर कर्जा दिनु गलत भएको बताउँछन् । ‘चेक धितो राखेर कर्जा दिने प्रावधान सहकारी ऐनले गरेको छैन । यसरी कर्जा दिन पनि मिल्दैन,’ उनी भन्छन्, ‘कसैले दिएको रहेछ भने कारबाही हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !