८ बैशाख २०८१, शनिबार

संशोधित बजेट पारित


बजेट

लहान, ३ माघ । लहान नगरपालिकाको पाँचौं नगरसभाले चालू आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ६२ करोडभन्दा बढीको संशोधित बजेट पारित गरेको छ । नगरसभाबाट पारित भएका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले चालू आव २०७६/७७ का लागि रु एक अर्ब ६२ करोड २४ लाख ६१ हजारको संशोधित बजेट पारित गरेको बताउनुभयो ।

आव २०७५/७६ को चौथो नगरसभाबाट चालू आव २०७६/७७ का लागि रु एक अर्ब ५१ करोड ४२ लाख प्रस्तावित गरिएकोमा हालसम्म रु ७१ करोड ३६ लाख ५८ हजार ६०० प्राप्त भएको नगरप्रमुख उहाँले जानकारी दिनुभयो । व्ययतर्फ रु एक अर्ब ५१ करोड ४२ लाख मात्र प्रस्तावित गरिएकामा हालसम्म चालू तर्फ रु १९ करोड ८२ लाख ९६ हजार २८५ तथा पूँजीगत तर्फ रु तीन करोड ७९ लाख ६७ हजार २५५ गरी रु २३ करोड ६२ लाख ६३ हजार ५४१ खर्च भइसकेको नगरप्रमुख साहले बताउनुभयो ।

नगरसभाले चालू आवका लागि सभाकक्ष, खुट्टी नहर सञ्चालन, बानो नहर, तरकारी बजार, नयाँ बजार, महिला विद्यालय, दलित बस्ती एकीकृत, बथनाहा बजार, स्वास्थ्य चौकी, वडा कार्यालय, बसपार्क, भवडा पार्क, सलहेश क्षेत्रमा जग्गा खरिद, रिँगरोड सिमाङ्कन, नदी नियन्त्रण, तीन किलोमिटर पक्की सडक निर्माण, ग्राभेल कार्य, कृषि सडक, वाटरएड खानेपानीसँगको सहमति, स्कुलको भवनलगायत भौतिक निर्माण कार्यलाई अघि बढाउने योजना पारित भएको नगरप्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी चालू आवमा सामाजिक कार्यअन्तर्गत ज्येष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन, दलित राशन कार्ड, स्वास्थ्य शिविर, किसान परिचयपत्र वितरण, कृषि अनुदान, शिक्षा तथा स्कुल स्तरवृद्धि, स्वास्थ्य, पशु, विभिन्न किसिमका सीपमूलक तालिम र नयाँ ढङ्गले सरसफाइ तथा अतिक्रमण नियन्त्रण आदि कार्य अघि बढाइने नगरप्रमुख साहले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !