७ बैशाख २०८१, शुक्रबार

साताभित्र उपत्यकाका सबै उपभोक्तालाई ग्यास


Nepal: Survival for basic needs Nepalese children stand near empty cooking gas cylinders waiting for fresh supply for 14 concesutive days in Sifal, Kathmandu on Tuesday, November 17, 2015. Photo: Skanda Gautam/ THT

काठमाडौं- ग्यास वितरण प्रणाली उपभोक्तामुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने रणनीति लिएका छन्। ग्यास आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटकमा भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघकोे पहलमा भक्तपुर, ललितपुर र काठमाडौंमा क्षेत्र विभाजन गरेर २७ कम्पनीका ग्यास एकैपटक बिक्री गर्ने तयारी छ। सोमबार भक्तपुरबाट सुरु हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए। ‘बिक्रेताकहाँ ग्राहकलाई पुग्ने गरी ग्यास पठाउछौं,’ घिमिरेले भने, ‘एक पटक हरेकको घरमा ग्यास पुग्नेछ।’

संघले नाकाबन्दीपूर्व जुन बिक्रेताबाट ग्यास ल्याएको हो, उसैकहाँ सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ। राजधानीमा ग्यास बेच्ने सबै कम्पनीले आफ्ना डिपो तथा बिक्रेताकहाँ सूचीकृत सबै ग्राहकलाई पुग्ने संख्यामा ग्यास पठाउने घिमिरेले जानकारी गराए।

संघले ग्राहकलाई साबिकको बिक्रेतासँग ग्यास लिन आग्रह गरेको छ। ‘एक परिवारले एक सिलिन्डर ग्यास अनिवार्य पाउनेछन्,’ संघका महासचिव दिवान चन्दले भने, ‘ग्यास आयात बढेकाले क्रमशः उपभोक्ताका सबै सिलिन्डर भरिनेछन्।’ अघिल्लो महिना करिब ३० हजार मेटि्रक टन ग्यास आयात भएपछि उद्योगी पनि उत्साहित छन्। तर विगतको अभाव कम गन आपूर्ति बढाउनुपर्ने उनीहरुको भनाइ छ।

ग्यास उद्योगीले अप्रिलको लागि ग्यासको कोटा बढाउन माग गरेको जनाएका छन्। मार्चमा ३० हजार एक सय ३५ टन ग्यास आयात गरेकोमा अप्रिलको लागि ३६ हजार नौ सय १८ टन माग भएको अध्यक्ष घिमिरेले बताए। ‘लामो समय मागको आधारमा ग्यास नआएकोले धेरै सिलिन्डर रित्ता छन्,’ उनले भने, ‘उपभोक्तालाई राहत दिन थप कोटा माग गरेका हौं।’

यता भारतको नाकाबन्दीको बेलाबेला रिरुट, डेमरेज, डिटेन्सन बापतको करिब एक अर्ब रुपैयाँ भारतीय ट्रान्सपोर्टरले माग गरेको उद्योगीले जनाएका छन्। यो नियमित ढुवानी भाडाबाहेकको अतिरिक्त रकम हो। रक्सौलबाट ग्यास बुलेट रि–रुट गरी भैरहवा, विराटनगरबाट ल्याउँदा लागेको करिब ३५ करोड रुपैयाँ भारतीय ट्रान्सपोर्टलाई नदिँदा फेरि ग्यास ढुवानीमा अवरोध आउन सक्ने भन्दै उद्योगीले चिन्ता व्यक्त गरेका छन्। ‘रि–रुटको करिब ३०/४० करोड रुपैयाँ उद्योगीमार्फत भारतीय ट्रान्सपोर्टरलाई दिनुपर्नेछ,’ घिमिरेले भने, ‘उक्त रकम नपाए ढुवानी रोक्ने चेतावनी दिएका छन्।’ सो रकम आयल निगमले तिर्ने सहमतिमा रि–रुट गरेर ल्याएको उनले दाबी गरे।

रि–रुट बाहेक डेमरेज, डिटेन्सन बापतको प्रतिबुलेट प्रतिदिनको चार सय ४३ रुपैयाँ क्षतिपूर्तिसमेत भारतीय ट्रान्सपोर्टरले मागेको उद्योगीले बताएका छन्। सोबापत करिब ६० करोड रुपैयाँ छ। रि–रुटको रकम दिने सहमति भए पनि भारतकै अवरोधको कारण बुलेट रोकिएकोले डेमरेज, डिटेन्सनको पैसा माग्नुको तर्क नभएको सरोकारवालाको भनाइ छ। भारतकै अवरोधको कारण भारतीय बुलेटले ढुवानी गर्न नपाएकोले उनीहरुले आफ्नै सरकारसँग क्षतिपूर्ति माग्नुपर्ने तर्क छ।

यता आयल निगमले रि–रुट गरेको रकम दिने विषयमा सकरात्मक भएको जनाएको छ। ‘रि–रुटको रकम दिनुपर्छ भन्ने पक्षमा छौं,’ निगम प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘अरु क्षतिपूर्तिबारे हामीलाई जानकारी छैन।’

कहाँ कहिले पाइन्छ ग्यास?
भक्तपुर जिल्लाका सबै क्षेत्र चैत २९

नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्र चैत ३०
पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चावहिल, बौद्ध,चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल, नयाँ बस्ती वैशाख २
ललितपुर जिल्लाका सबै क्षेत्र वैशाख ३
न्युरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लिबजार, ज्ञानेश्वर, मैतीदेवी वैशाख ५
कलंकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालीमाटी, बाफल, बालाजु, सीतापाइला, स्वयम्भू वैशाख ६
महाराजगन्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी, धुम्बाराही वैशाख ७
श्रोत : नेपाल एलपी ग्यास उद्योग संघ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !