१२ बैशाख २०८१, बुधबार

यसरी बढ्दैछ जलविद्युतमा जनताको लगानी


Hydro-power

काठमाडौँ, १३ चैत । नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले दुई अर्ब रूपैयाँको सेयर निष्काशन गरेर जलविद्युत् क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ ।

निर्माणमा क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत् आयोजनाले पनि स्थानीयवासीलाई सहभागी गराउँदै अगाडि बढाउने तयारी गरेपछि आकर्षण एकाएक बढेको हो । जलविद्युत् कम्पनीले दुई अर्बको सेयर आह्वान गर्दा ४३ अर्ब रूपैयाँ बराबरको आवेदन परेको थियो ।

नागरिक लगानीका लागि तयार छन् र उनीहरु उचित लगानीकर्ताको प्रतीक्षामा छन् भन्ने पनि जलविद्युत् कम्पनीको सेयरले स्थापित गरेको थियो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्स्चेन्जमा आठ जलविद्युत् कम्पनीको सेयर सूचीकृत भएको छ ।

रसुवाको चिलिमे जलविद्युत् आयोजनाले स्थापित मूल्य र मान्यताले नागरिकलाई जलविद्युत् क्षेत्रप्रति आकर्षित गरेको छ । निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सञ्चयकोषका बचतकर्तालाई सेयर सदस्य बनाइसकेको छ ।

बुटवल पावर कम्पनी, नेसनल हाइड्रो जस्ता नाम चलेका जलविद्युत् कम्पनीले पनि नागरिकलाई सहभागी गराएर विभिन्न जलविद्युत् आयोजना अगाडि बढाइरहेका छन् ।

सरकारले पछिल्लो दिनमा लिएको जलविद्युत्मैत्री नीति एवम् लगानीमैत्री वातावरणका कारण पनि नागरिकको चासो जलविद्युत् क्षेत्रमा बढ्दै गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष शैलेन्द्र गुरागाईँ बताउँछन् ।

“नेपालीसँग पैसा छ, उनीहरु लगानीका लागि तयार छन् भन्ने बजारमा स्थापित भएको छ, अब मात्रै आकर्षक परियोजना चयन गरेर युद्धस्तरमा निर्माणमा जानुपर्छ, सबैले त्यसका लागि प्रयत्न गर्नुपर्छ”–गुरागाईँले भने।

गुरागाईँ नै अध्यक्ष रहेको ङयादी समूहले यसै महिनाको तेस्रो साता नौ लाख ७३ हजार कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको छ । करिब रु तीन अर्ब बराबरको आवेदन पर्ने सो समूहले विश्वास लिएको छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनीले यसै महिनाको अन्त्यसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ ।

कम्पनीले गत कात्तिक १२ देखि २९ गतेसम्म प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित दरको करिब दुई अर्ब रूपैयाँको सेयर नागरिकलाई प्रदान गर्ने प्रयोजनका साथ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा तीन लाख बढीले लगानी गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार नागरिकमा लगानीको क्षमता छ भन्ने कुरा आफ्नो कम्पनीको सेयरमा देखिएको उत्साहले पनि स्पष्ट भएको छ । कम्पनीले ५०० कित्तासम्म आवेदन गर्नेलाई ५६ कित्ता सेयर दिएको छ ।

यस्तै यही चैत ५ गते जलविद्युत् लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच काबेली जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा वित्तीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । लामो समयदेखि अड्कँदै आएको सो सम्झौताले पनि जलविद्युत् क्षेत्रमा उत्साहको सञ्चार गरेको छ ।

काबेली इनर्जीले निर्माण गर्न लागेको ३७.६ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैंकले चार अर्ब रूपैयाँ लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल सरकार र बैंकबीच २०७१ साल मङ्सिर ८ गते नै हस्ताक्षर भइसकेको छ । सरकारले उक्त बैंकसँग रकम लिएर काबेली इनर्जीलाई प्रदान गर्ने प्रावधान बमोजिम वित्तीय सम्झौता भएको हो ।

इपानका पूर्व अध्यक्षसमेत रहनुभएका सुवर्णदास श्रेष्ठको कम्पनी सानिमा माई हाइड्रो पावरले राष्ट्रिय प्रसारणमा यसै वर्ष मात्रै २९ मेगावाट विद्युत् जोड्न सफल भएको छ ।

यस्तै पूर्व लमजुङको छ्याङ्दी खोलामा निर्मित छ्याङ्दी खोला जलविद्युत् आयोजनाले पनि दुई मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ ।

सरकारले सहजीकरण मात्रै गरिदिने हो भने नेपालीको लगानीमा नै मझौला तथा ठूला आयोजना पनि अगाडि बढाउन सकिन्छ भन्ने स्थापित भएको श्रेष्ठको भनाइ छ ।

गत वैशाख १२ गतेको भूकम्प र भारतको अघोषित नाकाबन्दीले केही अवरोध गरे पनि जलविद्युत् क्षेत्रमा क्रमशः लगानीको वातावरण बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले कुल पूँजीको न्यूनतम १२ प्रतिशत जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेका कारण पनि ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था पनि त्यसतर्फ आकर्षित भएका हुन् । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !