७ बैशाख २०८१, शुक्रबार

रसुवागढी र साञ्जेनको साधारण सेयर आजै बाँडफाँड हुने


काठमाडौं । सरकारले जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरको आज बाँडफाँड हुने भएको छ । पछिल्लो पटक जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको ती दुई कम्पनीको सेयरमा ३ अर्ब १७ करोड बराबरको आवेदन परेको थियो ।

ती दुई कम्पनीको सेयरमा लगानीकर्ताको चर्को आकर्षण देखिएको थियो । केही समय पहिले साधारण सेयर बिक्री गरेको यूनियन हाइड्रो पावरको सेयर नबिकेर हैरान भएको बेला रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सेयरमा भने लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेका छन् ।

चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार ती दुई आयोजनाको साधारण सेयरमा ३ अर्ब १७ करोड बढीको आवेदन परेको छ । कोइरालाका अनुसार साञ्जेनमा ३ लाख ४ हजार लगानीकर्ताले आवेदन गरेका छनु् भने रसुवागढीको सेयरमा ३ लाख ७ हजारले आवेदन गरेका छन् ।

ती दुई कम्पनीले १ अर्ब ५४ करोड बढीको साधारण सेयर बिक्री गरेका थिए । लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेको सम्बन्धित आयोजनाका प्रमुखले जानकारी दिएका छन् । कूल १११ मेगावाट क्षमताको रसुवागढीको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने साञ्जेन मध्ये माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।

माग भन्दा बढी आवेदन परेका कारण रसुवागढीमा बढीमा ३० कित्ता र साञ्जेनमा २० कित्ताको दरले सेयर पाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !