७ बैशाख २०८१, शुक्रबार

भारतीय अड्कोले सयौं क्विन्टल गोदाममा, केही बारीमै कुहिँदै


Aduwa

मुख्य सिजनमा निर्यात प्रतिबन्ध लगाउने र खोल्दा पनि हरेक पटक प्रयोगशाला रिपोर्ट अनिवार्य चाहिने भारतीय अड्कोले नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार अनिश्चित बनेको छ। प्रमुख तथा एकमात्र अन्तर्राष्ट्रिय बजारले यस्तो जटिल सर्त अघि सारेपछि निरन्तर खुम्चिँदै गएको बजार झन्-झन् पहुँचभन्दा पर पुग्ने खतरा बढेको हो।

नेपालमा व्यावसायिक रुपमा अदुवा उत्पादन हुन थालेयता नै भारतीय बजारले नेपाली उत्पादन लिन थालेको थियो। तीन वर्षअघि पूर्वका विभिन्न जिल्ला भ्रमणमा आएको भारतीय कृषिविज्ञको टोलीले नेपाली अदुवा उत्कृष्ट रहेको भन्दै प्रशंसा पनि गरेको थियो।

केही वर्ष अघिसम्म प्रिय रहेको नेपाली अदुवा भारतमा एकाएक कम निर्यात हुन थालेको दुई वर्ष भएको छ। ‘पहिले भारतमा उत्पादन कम हुन्थ्यो, त्यसैले भारतीय बजारले हामीलाई खोज्थ्यो’, अदुवा व्यवसायी राजन थापाले भने, ‘अहिले दक्षिण भारतमा ठूलो परिमाणमा अदुवा उत्पादन हुन थालेपछि नेपाली उत्पादनमा खोट देखाउन थालिएको हो।’

व्यवसायी भारतीय पक्षले ‘नियतवश नेपाली अदुवाको निर्यात रोकेको’ आरोप लगाउँछन्। भन्सार नाकामा भएको अवरोध र भारतीय अधिकारीको अभिव्यक्तिले व्यवसायीको आरोप सत्यनजिक देखिन्छ।

यसपटक भारतले प्रतिबन्ध लगाएलगत्तै नेपाली व्यवसायी तथा अदुवा व्यवसायी संघको टोलीले भारत, पश्चिम बंगालको पानीट्यांकीस्थित भन्सारका अधिकारीसँग भेट गरेको थियो। त्यस क्रममा भन्सार अधिकारीले प्रयोगशालामा जाँच गरेर विषादी नभएको प्रमाण ल्याए अदुवाको ट्रक नरोक्ने बताएका थिए। भारतीय भन्सारले यस्तो जवाफ दिएपछि शुक्रबारै प्रयोगशाला परीक्षणका लागि अदुवा कोलकाता पठाइएको छ। त्यसको रिपोर्ट ज्यादै छिटो आउँदा पनि कम्तीमा एक साता लाग्छ। अदुवा नेपालमा काठमाडौं र भारतको कोलकातामा मात्र परीक्षण हुन्छ।

लामो समयदेखि चलिरहेको नेपाल–भारत व्यापार र २०५४ सालदेखि सुरु बंगलादेशसँगको कारोबारका क्रममा नेपाली पक्षले सीमा नाकामै खाद्य प्रयोगशाला राख्न भारतीय पक्षसँग आग्रह गर्दै आएको छ। तर, प्रत्येक बैठक, छलफल र भेटघाटमा नेपालको आग्रहमा गम्भीर रहेको बताउने भारतले प्रयोगशाला स्थापना गरेको छैन।

भारतले प्रयोगशाला नबनाउँदा नेपाली निर्यात व्यवसायी वर्षौंदेखि झन्झट सहँदै आएका छन्। यसपटक अदुवामा पनि परीक्षण रिपोर्ट खोजिएपछि नेपाली पक्ष झनै झस्किएको छ।

तत्कालै बजार नपुर्‍याए सड्ने समस्या प्रचुर रहने अदुवा निर्यात गर्न कम्तीमा एक साता लामो प्रक्रिया पूरा गर्नुपर्ने झन्झटले अदुवा निर्यात सम्भावना जटिल बनाएको व्यवसायीको भनाइ छ। ‘बारीबाट निकालेको अदुवा दुई दिनमै बजार नपुर्‍याउने हो भने पूरै बिग्रिन्छ’, अदुवा उत्पादक तथा व्यवसायी संघका महासचिव इन्द्र बुढाथोकीले भने ‘अनि हरेकपटक ल्याब परीक्षण गनुपर्ने हो भने त अब हामीले अदुवाको भारतीय बजार गुमाउने निश्चित हो। प्रत्येक पटकको निर्यातमा सात दिन पर्खंदा अदुवा सद्दे रहँदैन।’

भारतले पूर्व जानकारीबेगर नै निर्यात प्रतिबन्ध लगाएपछि नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लामा धमाधम निकालिएका माउ अदुवा गोदाम र बारीमै सड्न थालेका छन्। खासगरी मेची र कोसी पहाडका जिल्लामा उत्पादित ठूलो परिमाणको अदुवा अहिले खेर जाने अवस्थामा छन्। केही समययता मेची र कोसी पहाडमा उत्पादित सबै अदुवा झापामा संकलन गरेर भारतीय बजार पठाइँदै आएको थियो। प्रतिबन्धपछि पहाडका कुनै पनि जिल्लाबाट अदुवा झापा झारिएको छैन। जिल्लाकै उत्पादन पनि कि बारीमै कि त व्यापारीको गोदाममा सड्ने अवस्थामा पुगेको छ।

स्वदेशमा नगण्य मात्रामा खपत हुने अदुवाको बजार भारत नै हो। नेपालले अहिलेसम्म भारतबाहेक अन्यत्र अदुवाको बजार नै नखोजेको र भारत पठाउँदा पनि काँचो मात्रै पठाएका कारण समस्या झन् थपिएको छ।

आइतबारसमेत गरेर पूर्वी काँकडभिट्टा नाकाबाट अदुवा भारत निर्यात नभएको ६ दिन पूरा भएको छ। चिनियाँ मिसावट भएको र अत्यधिक विषादीसमेत फेला परेको बताउँदै भारतीय पक्षले अदुवाको निर्यात गएको मंगलबारदेखि रोकेको हो। मुलुकका अन्य नाकाबाट त्यसअघि नै अदुवा निर्यात रोकिएको थियो। अदुवा निर्यातमा लगाएको प्रतिबन्धबारे सरकारले ठोस पहल पनि गरेको छैन। सरकारी उदासीनताले समस्या झनै लम्बिने खतरा रहेको अदुवा व्यवसायी संघले औंल्याएको छ।

‘दुई/तीन दिनयता भारतीय दूतावास र वाणिज्य मन्त्रालयमा लगातार कुरा भइरहेको छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले भने, ‘भेटमा दूतावास नराम्रो केही भन्दैन तर जान पनि दिँदैन। यसमा सरकारले ठोस पहल पनि गरेकै छैन।’

भारतीय दूतावाससँग कुराकानी गरेर अदुवाको निर्यात समस्या तत्कालै सुल्झाउने वाणिज्य मन्त्रालयले बताएको थियो। तर, निर्यात रोकिएको साता बित्न लाग्दा पनि सरकारको उच्च तहबाट कुनै पहल भएको छैन।

त्यस क्रममा दूतावासका अधिकारीले विश्वव्यापार संगठनको मापदण्ड पूरा गरे अदुवामा रोक नलगाउने बताएका थिए। यसको अर्थ अदुवामा विषादी रहेको भन्ने नै हो तर नेपाली उत्पादनमा मिसावट र विषादी भएको प्रमाण भारतले अहिलेसम्म दिन सकेको छैन।

‘यो एकतर्फी आरोप पत्याउन सकिन्न’, अदुवा व्यवसायी संघ अध्यक्ष खड्काले भने, ‘त्यसैले यो अवरोध नियतवश र नेपाली अदुवाको बजार भत्काउने गरी लादिएको छ। सरकारले उच्च तहमा कुरा गरेर निकास दिन ढिलो गर्नु हुँदैन।’ द्विपक्षीय वाणिज्य सन्धिअनुसार कृषि वस्तु सजिलै आयात–निर्यात गर्न दिइनुपर्ने तर नेपालले सन्धि पालना गरे पनि भारतले नगरेको उनको भनाइ छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !