६ बैशाख २०८१, बिहिबार

विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन


तीन करोड

१५ इलाम , पशुपतिनगर । विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणले पुरानो बक्यौता सङ्कलन गरेको हो ।

मिटर रिडिङ भएको ६० दिनसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने प्राधिकरणको नियमावलीअनुसार आर्थिक वर्ष २०७३/७४ मा ३०४ ग्राहकको लाइन काटिएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा बाँकी बक्यौता रु दुई करोड १५ लाख ३४ हजार २०५ रहेकामा ३०४ जनाको लाइन काटेर रु चार लाख २१ हजार ६०१ सङ्कलन गरेको हो । प्राधिकरणको इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा उठाउनुपर्ने बाँकी बक्यौता रकम रु एक करोड ५१ लाखमा झारेको थियो । २०७४/७५ मा ६९८ ग्राहकको लाइन काटेर रु ३६ लाख ८५ हजार २५२ बक्यौता उठाएको केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो ।

लाइन काट्ने र बाँकी बक्यौता रकम उठाउने कामलाई तीव्रता दिएपछि बिल तिर्ने औसत अवधि छोटिएको छ । आर्थिक वर्ष २०७३/७४ मा ग्राहकले विद्युत् रिडिङ गरेको ४२ दिनमा महसुल तिर्दै आएकामा आर्थिक वर्ष २०७४/७५ मा ३२ दिनमा झरेको हो । प्राविधिक र अप्राविधिक चुवाहट रहने विद्युत् क्षेत्रमा प्राधिकरणले प्राविधिक चुवाहट नियन्त्रणको कामलाई तीव्रता दिएको छ । प्राविधिक चुवाहट नियन्त्रणका लागि विद्युत् प्रसारण, वितरण लाइन, प्रसारण क्षेत्रमा बुस कटिङ गर्ने, बन्द मिटरलाई परिर्वतन गर्ने, मिटर बाइपास गरी विद्युत् बाल्नेलाई कारवाही गर्ने कार्यक्रमलाई तीव्रता दिइएको प्राधिकरण प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७३/७४ मा २४ दशमलव ९६ प्रतिशत चुवाहट रहेको इलाममा आव २०७४/७५ मा १८ दशमलव ३६ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण ग्राहक निर्देशनालयले चालु आवमा १६ दशमलव ११ प्रतिशतमा चुवाहट झार्ने लक्ष्य दिएकोमा इलाम वितरण केन्द्रले आवको पाँच महीनामा १५ दशमलव ८५ प्रतिशतमा झारेको छ ।

बाक्लो बस्ती भएका क्षेत्रको ट्रान्सफर्मरको फेज परिवर्तन गर्ने, अर्थिङ्ग सुधार, फिक्कल सवस्टेशनको स्तरोन्नति, फिक्कल कन्याम फिडरको कन्डक्टर (तार) परिवर्तन गरेकाले चुवाहट नियन्त्रणको दर कम भएको हो । चुवाहट नियन्त्रणका लागि प्राधिकरणले बन्द मिटरलाई परिवर्तन गर्ने कार्यक्रमलाई पनि तीव्रता दिँदै आएको छ ।

प्राधिकरण इलाम वितरण केन्द्रले गत अवमा ७०० बन्द मिटर परिवर्तन गरेको थियो । जसमध्ये पूर्वी इलामको सुर्योदय नगरपालिका क्षेत्रमा मात्रै चार मिटर परिवर्तन गरिएको थियो । शहरी क्षेत्र र बढी विद्युत् खपत हुने क्षेत्रमा गरिएको परम्परागत अर्थिङ्गलाई सुधार गर्दा पनि विद्युत् चुवाहट नियन्त्रण हुने भएकाले त्यसलाई तीव्रता दिएको प्राधिकरण प्रमुख घिमिरेले बताउनुभयो । ट्रान्सफर्मरको परम्परागत अर्थिङ्गलाई सुधार गर्न चालु आवदेखि बजेटकै व्यवस्था गरिएको छ ।

परम्परागतरूपमा अर्थिङ्ग गरिएका ट्रान्सफर्मरहरू चट्याङबाट चाँडै पड्किने भएकाले त्यसलाई सुधार गर्दा कम क्षति हुने प्राधिकरणले जनाएको छ । गत आवमा एकै दिन १८ ट्रान्सफर्मर पड्किएपछि झण्डै ३६०० परिवार लामो समय अन्धकारमा बस्न बाध्य भएका थिए । ट्रान्सफर्मर नै पड्किन नदिन फेज ब्यालेन्स सुधार र अर्थिङ्ग सुधारलाई प्राथमिकता दिएको प्राधिकरण प्रमुख घिमिरेले बताउनुभयो । प्राधिकरणले इलाम सदरमुकाम, फिक्कल, पशुपतिनगर र घना बस्ती भएका क्षेत्रमा रहेका ट्रान्सफर्मरको अर्थिङ्ग सुधारको कामलाई अहिले प्राथमिकतामा राखेको छ ।

३७ हजार ग्राहक सङ्ख्या रहेको नेपाल विद्युत प्राधिकरण इलाम विरतण केन्द्रले गत आर्थिक वर्षमा रु १८ करोड बढीको विद्युत् व्यापार गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !