७ बैशाख २०८१, शुक्रबार

मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा


dhitoboard

१९ कात्तिक, काठमाडौँ । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् ।

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।

यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने वाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !