८ बैशाख २०८१, शनिबार

गर्मी बढ्दै जाँदा माछालाई अक्सिजन कमी


fish

भैरहवा, ११ जेठ – तराईमा अत्यधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेको माछालाई श्वास–प्रश्वासको समस्या देखिन थालेको कृषकहरूले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अहिलेसम्म श्वास–प्रश्वासको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने जनाएको छ ।

गर्मी मौसममा पोखरीमा अक्सिजनको कमी हुँदा माछामा श्वास–प्रश्वासको समस्या देखिने र यसले माछा मर्न सक्ने सम्भावना अत्यधिक रहेको कृषि कार्यालयका मत्स्य विकास अधिकृत रमेश जैसवालले बताए । “गर्मीमा तापक्रम बढ्दै जाने भएकाले पानीमा अक्सिजन घुल्ने क्षमता एकदम न्यून हुन गई माछालाई अक्सिजनको अभाव भएर मर्छन्”, जैसवालले भने, “यो समय पोखरीमा माछा बढी हुने समय पनि हो र अहिलेकै समयमा माछालाई अक्सिजन कमी हुन गई ठूलो संख्यामा भकाभक मर्न सक्छन् ।” एक्कासि मौसम परिवर्तन हुँदा, बादल लाग्दा, गर्मी बढ्दा र पोखरीको पानी बढी फोहोर हुँदा अक्सिजनको मात्रा कमी हुन्छ ।

कृषि विकास कार्यालयले पोखरीमा अक्सिजनको मात्रा बढाउन फोहोरा प्रविधिबाट पानी थप्न, एरिएटर मेसिन भए बिहान ४ बजेदेखि ६ बजेसम्मको समयमा चलाउन, तत्कालै ओटु म्याक्स नामक ट्याबलेट प्रतिकट्ठा जलाशयमा ३५ ग्रामको दरले हाल्न सुझाव दिएको छ ।

त्यसैगरी पोखरीमा रहेका ठूला माछा निकालेर बिक्री गर्न, मलखाद तथा माछाको दाना ७ दिनसम्म नदिन, पोखरीको पानीको रंग गाढा कालो वा धमिलो भएमा प्रतिकट्ठा ५ केजी चुना पानीमा घोलेर घाम लागेको बेलामा पोखरीको चारैतिर पर्ने गरी छर्न, पोखरीको पानी निकास गर्ने प्रविधि भए निकास गरी फोहोराबाट नयाँ पानी हाल्न पनि विज्ञहरूले सुझाव दिएका छन् ।

माछाविज्ञ तथा हिमदाना उद्योगका प्रवन्धक राघबेन्द्र पाण्डेले पोखरीमा ठूला माछा भए बढी अक्सिजन चाहिने भएकाले ३०० ग्राम हुनेबित्तिकै पोखरीबाट माछा निकाल्नुपर्ने बताउँछन् । उनले माछा पोखरीमा कम्तीमा ३ फिट पानी राख्नसमेत सुझाव दिएका छन् ।

मत्स्य विकास संघ रुपन्देहीका अध्यक्ष तथा अगुवा माछा कृषक पुन्य चौधरीले माछामा हुने अक्सिजन कमीको समस्या समाधानका लागि आफूहरूले सचेतना अपनाइरहेको बताए । रुपन्देहीको दयानगर छपिया माछाको पकेट क्षेत्र हो । यहाँबाट मात्रै वार्षिक २५ करोड रुपैयाँ बराबरको माछा उत्पादन हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !