१३ बैशाख २०८१, बिहिबार

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको जीवनी र सोच


रामवीर मानन्धर

पृष्ठभूमि र जन्म

धेरै बर्ष अघिदेखि अष्टनारायण फिल्म हलसँगै रहेको बालाजु बाइपासमा रहेको रामवीर मानन्धरको घरमा नेता कार्यकर्ताको भीड लाग्छ । उनी वडाध्यक्ष भएदेखि जनताका समस्यासँग परिचित र समाधान गर्ने तरिका समेत जानेकाले अनौठो कला छ उनमा। घरमा पुल, ढल, खानेपानी, मोटरबाटो लगायतका विषयका फाइलको चाङ लाग्छन् ।

जहिल्यै जनताका दु:खसुखलाई साथ दिएर जनताको नेता भनेर चिनिएका रामवीर मानन्धरको जन्म वि. सं. २०१९ साल चैत २८ गते काठमाडौं बालाजु बाइपासमा भएको हो । उहाँको बुबाको नाम स्व. अष्ट नारायण मानन्धर र आमाको नाम चिनीमाया मानन्धर हो ।

वाल्यकाल र शिक्षा

रामवीर बच्चैदेखि हट्टाकट्टा, खाइलाग्दा, लेखपढमा भन्दा अन्य सामाजिक गतिविधिमा रमाउने, साथीभाइसँग समूहमा घुमफिर गर्ने र त्यसैमा रमाउने स्वभावका थिए । उनले कक्षा तीनसम्म नजिकको नवप्रकाश स्कुलमा पढे । उनको बाल्यकाल दगुर्नेपानी छेउमै रहेको खोलामा पौडी खेल्ने, माछा मार्ने, साथीभाइहरूसँग घुम्न जाने गर्दैमा बित्यो । ११/१२ वर्ष भएपछि भने उनीहरू नजिकैको बाइसधारा पार्कमा पालेको आँखा छलेर बार नाघेर छिर्ने र दिनभरि पौडी खेलेर फर्कने गर्दथे । उनी पकनाजोलस्थित नेपाल युवक माविमा हरेक दिन बाइपासबाट हिँडेर पुग्थे र पढेर फर्किन्थे ।

योगी विकासानन्द र उनी ०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा पढाइ छाडेर महिनौँ आन्दोलनमा हिँडे । उनी कतै संगठित भने भइसकेका थिएनन् । तैपनि, अमृत साइन्स, सरस्वती लगायतका चर्को विद्यार्थी राजनीति हुने क्याम्पसको प्रभाव पकनाजोलसम्मै आइनपुग्ने कुरै थिएन । भुट्टोको फाँसीविरुद्ध देशव्यापी रूपमा विद्यार्थीहरू ताते । अमृत क्याम्पसको छतबाट विद्यार्थीहरूलाई खसालियो । यस्ता घटनाले उनीजस्ता युवाहरूको रगत हुँडलिन थाल्यो । जनमतसंग्रह घोषणा भएपछि आन्दोलन मत्थर भयो । उनीहरू तत्कालीन व्यवस्थाको विरोधमा थिए । कक्षा दसमा ‘हाम्रो पञ्चायत’ भन्ने विषय पढ्नुपथ्र्यो । तर, उनीहरूले पञ्चायतको परीक्षा बहिष्कार गरे । उनीहरू सबैको परीक्षा बिग्रियो । पछिल्लो सालमा कम्पार्ट परीक्षा दिएपछि मात्र उनले एसएलसी पास गरे । एसएलसीपछि पाटन क्याम्पसमा भर्ना भएपनि उनले पढाइलाई निरन्तरता दिन सकेनन् ।

मानन्धरको पुस्तौनी झोंछेस्थित न्हूसा चोकमा तोरी पेल्ने मिल थियो । तर, उनको हजुरबुबाले भने व्यस्त र घना सहरभन्दा वरिपरिको खुला ठाउँमा नजर लगाए । सामान्य व्यवसाय गर्ने सोचले उनका हजुरबुबा बाइपासभन्दा केही परको दगुर्नेपानीमा आएर बस्न थाले । त्यहाँ अलिअलि बजार पनि थियो त्यतिबेला । केही समयपछि भने अहिले फिल्म हल रहेकै स्थानमा बस्न थाल्यो उनको परिवार, जहाँ एउटा सानो चामल कुट्ने मिल पनि राखिएको थियो । उहाकी श्रीमतीको नाम बुद्धिलक्ष्मी मानन्धर हो । उहाँका एक छोरा र दुई छोरी छन्।

राजनीतिक जीवन

२०३६ सालमा स्कूल पढ्ने क्रममै उहाँलाई विद्यार्थी आन्दोलनले प्रभावित बनायो । घर र स्कूल ओहोरदोहोर गर्ने बाटोमा अमृत साईन्स क्याम्पस पथ्र्यो । त्यहाँ दिनहुँजसो प्रदर्शन र आन्दोलन हुन्थ्यो । क्याम्पसमा अनेरास्ववियूको प्रभाव राम्रो भएकाले उहाँको संगत पनि अखिलकै नेता कार्यकर्तासँग भयो । त्यसपछि उहाँ अनेरास्ववियूमा बसेर काम गर्नुभयो । ०३६ को आन्दोलनमा लागेका उनी ०४६ को जनआन्दोलनमा पनि निकै सक्रियतापूर्वक लागेका थिए ।

०४८ सालको संसदीय निर्वाचनमा सहानाले उम्मेदवारी दिएर जित्नुभयो । उनी प्रधानलाई जिताउन निकै खटे । उनको सबैले तारिफ गरे । लगत्तै ०४९ सालमा स्थानीय चुनाव भयो । एमालेले मेयरमा राजेन्द्र श्रेष्ठ र उपमेयरमा केशव स्थापित सहित सबै वडामा उम्मेदवार तय गर्दै थियो । १६ वडाबाट उनको नाम गयो । तर, उनले पार्टी सदस्यता लिएका थिएनन् । प्रदीप नेपालले हतारहतार जमलस्थित चेम्बर भवनमा उनी लगायत केही व्यक्तिलाई संगठित सदस्यता प्रदान गरे ।

०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भयो । सुरुमा ५/६ जना संगठित सदस्य रहेको त्यस क्षेत्रमा यस बेलासम्म सय जनाजति सदस्य भइसकेका थिए । राजेन्द्र श्रेष्ठले सांसदको टिकट पाए । ०५४ मा स्थानीय चुनाव भयो । मेयरमा स्थापित विजयी भए । मानन्धर पनि वडाध्यक्षमा निर्वाचित भए ।०५४ सालमा एमाले विभाजित हुँदा राजेन्द्र श्रेष्ठ, केशव स्थापितहरू मालेतिर लागे भने उनी एमालेमै बसे । मालेमा लागेन भनेर केशव स्थापितले फेरि बजेट रोक्का गरी दु:ख दिन थाले ।

०५६ मा फेरि संसदीय निर्वाचन भयो । मंगलसिद्धि मानन्धरलाई अघि सार्यो एमालेले । मालेबाट उठेका राजेन्द्र श्रेष्ठ त्यस बेला मन्त्री थिए । तर, मंगलसिद्धिले भारी मतान्तरले चुनाव जिते । ‘सबैभन्दा चुनौती ठानिएको क्षेत्रबाटै सायद सबैभन्दा धेरै मत ल्याएर जिताइदियौँ,’ मानन्धर सम्झिन्छन् । स्थानीय निकायमा जनताका काम र उनका दु:खसुखसँगै साक्षात्कार गर्दागर्दै उनी निकै लोकप्रिय र स्थापित नेता भइसकेका थिए । ०६२/६३ को आन्दोलनका बेला कफ्र्यु तोड्नेदेखि त्यस क्षेत्रमा जनउभार ल्याउन उनी दिनरात खटे । मनमैजुको जुलुस भोटाहिटी पुर्याउने र गोली खान तयार भएर मैदानमा भिड्ने काम उनले गरे । अन्तत: आन्दोलन सफल भयो । ०६४ सालमा सबैतिर माओवादीको लहर थियो । हिसिलाले चुनाव जितिन्। रामवीर मानान्धर झन्डै दश वर्ष काठमाण्डौ वडा नं १६ का समेत अध्यक्ष बने ।

उनी स्थानीय विकास निर्माणमा राम्ररी नै भिड्नेमध्येमा पर्छन् । त्यसैले विकासका लागि केके गर्नुपर्छ, त्यसबारे उनी प्रस्ट छन् । चुनावताका प्रतिबद्धता पत्रमा घोषणा गरिएका बाहेक उनले पासाङ ल्हामु सडक विस्तार र चौडा गर्ने, विष्णुमती नदीमा ट्र्रङ्कलाइन बनाउने, क्षेत्रभरि खानेपानी, सडक विस्तार गर्ने, विष्णुमती करिडोर सुचारु गर्ने, काठमाडौँलाई सम्पदाको सहरका रूपमा विस्तार गर्ने र त्यसका लागि इचंगु, बालाजु बाईसधारा, पुरानो गृह्येश्वरी, भुवनेश्वरीलगायतका मठ–मन्दिरको संरक्षण गर्ने सोच बनाएका छन् उनले ।

दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेको तर्फवाट काठमाडौँको क्षेत्र नं ७ बाट संविधानसभामा निर्वाचित हुनुअघि रामवीर मानन्धरको परिचय पूर्ववडाध्यक्षमा मात्र सीमित थियो । महानगरपालिकाको १६ वडामा दुई कार्यकाल अध्यक्ष भएका उनी पछिल्लो संविधानसभा निर्वाचनमा जनता सामु चिरपरिचित भइसकेका थिए । उनको त्यही लोकप्रियताकै कारण पहिले निर्वाचित माओवादी नेतृ हिसिला यमी तेस्रो स्थानमा पुगिन् भने नेपाली कांग्रेसकी प्रमिलासिंह डंगोललाई सहजै हराउन पुगे । तडकभडकपूर्ण प्रचारवाजी र पैसाको ओइरो लगाउँदा पनि यमीले तेस्रो स्थानमा खुम्चिनुपर्यो । १३ दिन बन्दी जीवन बिताएका रामवीर मानन्धरले १३२८९ मत प्राप्त गरी विजयी भएका छन् । अहिलेसम्मको नतिजा अनुसार नेपाली फिल्मकर्मीको प्रतिनिधित्व गरेर संविधानसभा भवनमा पुग्न सफल पहिलो फिल्मकर्मी बनेका छन्, मानन्धर ।

पेशा र ब्याबसाय

राजनीतिसँगै चलचित्र क्षेत्रमा पनि सम्बद्ध हुनुहुन्छ । काठमाडौंको बालाजुमा नेपाली तथा हिन्दी फिल्म प्रदर्शन गर्ने अष्ट नारायण हलको सस्थापक सदस्य र व्यवस्थापक रहेका छन । चलचित्र विकास बोर्डको सदस्य समेत भएर उहाँले काम गरिसक्नुभएको छ । चलचित्र संघमा उपत्यका सभापतिको पद सम्हालेका मानन्धर अहिले उक्त संघका सल्लाहकार हुन् ।

योजना र सोच

रामवीर मानन्धरले काठमाडौं उपत्यकाको बृहत् विकासका लागि ‘गुरुयोजना’ बनाउनुपर्ने बताउछन । सार्वजनिक जग्गा अतिक्रमण बढ्दै गएको छ । सांस्कृतिक सम्पदा संरक्षणको अभावमा भत्कँदै छन्, संरक्षणप्रति कसैको चासो छैन । विकास निर्माणका लागि पार्टीगत विचारधारा त्यागेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । विकासबाटै जनताको आर्थिक, सामाजिक उन्नति हुने बताउछन । काठमाडौंको चोवारमा अन्तराष्ट्रिय स्तरको फिल्म स्टुडियो बनाउने उनको सोच छ । धेरै सामाजिक सस्थाहरुबाट सम्मानित मानन्धरले भारत, चीन, थाइल्याण्ड, श्रीलंका, बंगालादेश र संयुक्त अरब इमिरेट्स लगायतका देशहरुको बिदेश भ्रमण गरेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु