१३ बैशाख २०८१, बिहिबार

नेपाली काँग्रेसका लोकप्रिय नेता तथा पूर्व बनमन्त्री शंकर भण्डारीको जीवन


Former Minister Shankar Bhandari पूर्वमन्त्री शंकर भण्डारी

पृष्ठभूमि र जन्म

शंकर भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बनमन्त्री हुनहुन्छ । तनहुँ जिल्लाको फुर्कोट-४ मा बुवा स्व. दयानिधि भण्डारी र आमा दमयन्ती भण्डारीको छोराको रुपमा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका भण्डारी नेपाली काँग्रेसका लोकप्रिय नेता हुनुहुन्छ। हाल काठमाडौमा बस्नुहुने भण्डारी अन्जना भण्डारीसँग बैबाहिक सम्वन्धमा बाँधिनु भएको हो ।

दुई पटक कांग्रेसको केन्द्रीय सदस्य भईसकेका भण्डारी विद्यालयदेखि नै नेविसंघको राजनीतिमा आवद्ध भएपनि २०३८ सालदेखि सक्रिय विद्यार्थी राजनीतिमा होमिनु भएको थियो । उहाँले २०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निभाउनु भएको थियो । २०४९ सालमा त्रिचन्द्र कलेज स्ववियू सभापति र २०५४ मा तरुणदल केन्द्रिय सदस्य हुनु भएको थियो । धेरै राम्रो ब्यक्तित्व भएकोले आम जनता र कार्यकर्ता माझ देशभरी नै लोकप्रिय भएकोले नेपाली काँग्रेसको नेतृत्वमा अग्रपक्तिमा आउनुपर्छ भन्ने कार्यकर्ताको भनाई रहेको छ । निडर र सहयोगी स्वभाव भएका भण्डारीलाई भावी नेपाली कांग्रेसको अग्रपक्तिमा आउन सक्ने सम्भावना बोकेको नेताको रुपमा मानिन्छ । 

शिक्षा

भण्डारीले २०४० सालमा स्थानीय कालिका माबिवाट एसएलसी पास गरी काठमाडौँको सरस्वती क्याम्पसमा आईए पढेपनि प्राइभेटवाट परीक्षा दिएर प्रविणता प्रमाणपत्र तह सक्नु भएको हो । उहाँले त्रिचन्द्रवाट स्नातक तहसम्मको अध्ययन पुरा गर्नु भएको हो ।

खाना

भण्डारीलाई सामान्य खाना नै मनपर्छ तर अति सफा वातवरण हुनु आवश्यक छ उहाँको लागि । कतिपय अवस्थामा उहाँले खाना खाने ठाउँको पूर्ण सरसफाई नहुदाँ चुनाबी अभियानका क्रममा भोक-भोकै बसेको अनुभव छ ।

पोसाक

उहाँलाई दौरा सुरुवाल मनपर्छ । तर यो पोसाक सधैँ लगाउन नमिल्ने भएकाले सामान्य फर्मल पोशाकमै बढि रुचि लाग्ने बताउनुहुन्छ भण्डारी ।

फिटनेस

उहाँ खासै केहि नियमित फिटनेसको लागि कार्य गर्नुहुन्न तर समय मिलेमा भने घरमै रहेको मेसिनमा दौडिनुहुन्छ । कामको सिलसिलामा बाहिर धेरै रहने हुँदा त्यही दौडिने पनि नियमित हुन्न भण्डारीको ।

घुमफिर

कामको सिलसिलामा बाहेक घुमफिरमा भण्डारीको खासै रुची छैन । आजसम्म घुम्न नै भनेर उहाँ कतै जानुभएको छैन । कामकै सिलसिलामा चाहिँ देश-विदेश घुमिसक्नु भएको छ उहाँले ।

फुर्सद

फुर्सद हुँदा भने उहाँ पत्रिका पढ्ने, साथीहरुसँग भेटघाट गर्ने र युट्युबमा अन्तर्वार्ता र समाचारहरु हेर्ने गर्नुहुन्छ ।

खेलकुद

उहाँले बिद्यार्थी जीवनमा भलिवल खेल्नु हुन्थ्यो तर अहिले उमेरका कारण पनि कुनै खेलमा सक्रिय हुनुहुन्न ।

मोबाइल

जनसम्पर्कको लागि मोबाइल बोक्ने भण्डारी भन्नुहुन्छ, “अहिलेको युग मोबाइल बिना निक्कै कठिन हुन्छ” । मोबाइल अति आवश्यक र अपरिहार्य संचारको साधन भइसकेको बताउने भण्डारी यो बिना अहिले जीवन चलाउन निक्कै गाह्रो हुने अनुभव छ उहाँको । खासै यहि ब्राण्डको मोबाइल बोक्ने भन्दा पनि संचारको लागि बोक्ने गर्नुहुन्छ भण्डारी ।

टेलिभिजन

उहाँको असाध्यै कम मात्र टिभि हेर्ने बानी छ । विशेषगरी समाचार र सुचनाको लागि मात्रै टेलिभिजन हेर्ने भण्डारी टिभिवाट मनोरञ्जनका कुनै पनि कार्यक्रम हेर्न खासै रुचि छैन ।

चलचित्र

१५ बर्षयता चलचित्र हेर्न सिनेमाहल पुग्नुभएको छैन भण्डारी । एकदमै न्युन मात्र चलचित्र हेर्ने उहाँ सन्देशमुलक चलचित्र हेर्न मन पराउनुहुन्छ ।

स्वास्थ्य

स्वास्थ्यको लागि खासै केहि नगरेको बताउने भण्डारी बिहान बेलुका खाना खाने र दिनमा खाजा खाने गर्नुहुन्छ बाहिर हिंड्दा भने उहाँ कहिले कहिँ भोकै पनि बस्नुपरेको अनुभव छ । खानामा यस्तो परिकारभन्दा पनि सफाई खोज्ने उहाँलाई प्राय बाहिरको खाना त्यति मन पर्दैन ।

मापसे

बिशेष अवसरमा थोरै लिने गर्नुभएको छ । चुरोट चाहिँ कहिलेपनि लिनु भएको छैन भण्डारीले ।

संगीत

उहाँको संगीतमा खासै रुचि छैन तर राष्ट्रवादी गीतहरु बढी मनपर्छ । भाषा संस्कृति जोगाउने खालका गीत संगीत नै मनपर्छ भण्डारीलाई ।

भूल

उहाँ भन्नुहुन्छ, “मैले अन्जानमा एउटा राजनीतिक र शैक्षिक भुल गरेको छु । तर यो भुल सार्वजनिक गर्न भने चाहन्न ।”

सौन्दर्य

सौन्दर्य धेरै राम्रो कुरा हो । जीवनमा यो अति नै आवश्यक र महत्वपूर्ण पाटो हो भण्डारीको बुझाइमा । सुन्दरताले नै मानिसलाई आकर्षित बनाउने काम गर्दछ भन्नुहुन्छ भण्डारी ।

प्रेम

भण्डारीको बुझाइमा प्रेम भनेको माया हो जुन जीवनमा आवश्यक छ । प्रेम बिना जीवन सार्थक हुन्न । प्रेम जोसँग नि हुन्छ, बाबु-छोरा, आमा-छोरी या अन्य कोहिसँग हुन सक्छ जुन महत्त्वपूर्ण हुन्छ ।

विदेश भ्रमण

मन्त्री हुँदा एउटा देश मेक्सिको मात्र भ्रमण गर्नुभएका भण्डारीले निजी भ्रमणमा भने भारत, बेलायत, कोरिया, सिंगापुर, थाइल्याण्ड, स्वीडेन, डेनमार्क आदि देश घुमिसक्नुभएकाे छ ।

सपना (लक्ष्य)

नेपाली कांग्रेसले उहाँलाई  धेरै माथिसम्म पुर्याएको र मन्त्री पनि भएको बताउनुहुन्छ । त्यसैले अब पार्टीलाई शुद्ध र बलियो बनाउने र देश विकासको लागि केहि गर्ने सपना बुन्नुभएको राष्ट्रवादी भण्डारी आफ्नो कुनै निजी स्वार्थ नभएको बताउनुहुन्छ ।

अन्त्यमा

कतिपय संचार माध्यमहरु स्वतन्त्र छैनन् । मिडिया भनेको देशको चौंथो अंग हो । संचार माध्यमले बिभिन्न कारणले निष्पक्ष भएर काम गर्न नसकिरहेको अवस्थामा नेपालपत्रले स्वतन्त्रता र निष्पक्षतापूर्वक काम गर्न सकोस् भन्ने शुभकामना दिनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नेपाललाई फेरि हिन्दू राष्ट्र वनाउनैपर्छ – पूर्वमन्त्री भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु