४ बैशाख २०८१, मंगलबार

‘राष्ट्रिय सहिद’ मुकेश कायस्थ को हुन् ?

को हुन् मुकेश कायस्थ ?


मुकेश कायस्थ

काभ्रे । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उनलाई सहिद घोषणा गरेको हो ।

यसअघि मुकेश ‘जिउँदो सहिद’का रूपमा परिचित हुँदै आएका थिए । मुकेशको गत बुधबार साँझ बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि अर्थात् ३२ वर्षमा मुकेशको निधन भएको हो । अघिल्लो हप्तादेखि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

जनआन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते कायस्थलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको होस् नखुल्लेकै (अचेत) अवस्थामै निधन भयो । उनी बोल्नसमेत सक्दैनथे भने बायाँ हात र बायाँ गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो नै थियो ।

मुकेशको बिहीबार राष्ट्रिय सम्मानसहित नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई बाबु कृष्णमानले दागबत्ती दिएका हुन् । नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बनेपा बजार परिक्रमा गरी उग्रतिर्थेश्वर लगिएको थियो । श्रद्धाञ्जलि अर्पणका लागि मुकेशको शवलाई बिहान ११ देखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता–कार्यकर्ता उपस्थित थिए । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

मुकेश परिवारको एक्ला छोरा थिए । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको एक दिनदेखि ओछ्यानमा परेका कायस्थलाई ‘जिउँदो सहिद’ भन्ने गरिँदै आइएको थियो । उनी ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहेका थिए । परिवार र स्वास्थ्कर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही चलाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खानेकुरा खाने र ह्वीलचियरमा अडिन सक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्दै आएको थियो ।

स्वाथ्योपचारलगायतका लागि उनको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको थियो । सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । उनलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्व रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरेको थियो ।

बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । तर मुकेश पाँच वर्षदेखि दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरूलाई ‘पीरमाथि पीर’ थपिँदै आएको थियो । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिन्थे ।

कसैले उनको नाम लिएर बोलाउँदा ‘हँहँ, माँ’ भनेर बोल्नसक्ने मुकेश एक वर्षदेखि बोल्न सकेका थिएनन् । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा बिरामी परेपछि पेटमा पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । बिरामी परेयता मुकेश दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्थ्यो । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुनेसम्म गर्थे ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा बसेको थियो कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् । तर देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकामा मर्माहित थियो सो परिवार ।

आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले उक्त परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो । परिवारका अनुसार पछिल्लो वर्ष मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहनुभएको थियो । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय–समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।

दोस्रो अनआन्दोलनका क्रममा काभे्रका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० घाइते भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !