१४ माघ २०७९, शनिबार

कैदीबन्दीका बालबच्चा हुर्काउने इन्दिरा रानामगर बनिन् उपसभामुख


इन्दिरा रानामगर

झापा । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् ।

झापाको अर्जुनधारा–११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।

जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसकेकी उनलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो । अब उनी कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छन् ।

बुवा स्व. प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मेकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन् । उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिइन् ।

घर छाडेर काठमाडौँमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेका थिए । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेको उनका दाजु जगत् रानामगरले बताए । उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । उनकी एउटी छोरी सुविना राना छन् ।

पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उहाँले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिइन् । पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाएकी थिइन् ।

उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौँलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिन् । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेको उनले नै झापामा सञ्चालन गरेको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिइन् ।

बन्दी सहायता नेपाल (पीए नेपाल)की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उनी लगातार बालअधिकार र मानवीय सेवामा लागिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन हुँदासमेत उनी कुनै पार्टीमा थिइनन् ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिएकी थिइन् । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिन् । छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित गर्यो । अब उनको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल भइन् । उनी आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउछिन् ।

एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उनले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिएकी थिइन् । “हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ”, उनले भनेका थिइन्, “हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।”

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उहाँको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन् । विभिन्न दाता र शुभचिन्तकहरूले उनको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उनले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाइनन् । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिन् ।

सन् २००९ मा उहाँले ‘एसिया जनसेवा’ अवार्ड पाइन् । सन् २०१४ मा उनले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाइन् । यी सम्मानहरूले उनको व्यक्तित्व अन्तर्राष्ट्रिय जगत्मा सुवासित भयो ।

सन् २०१७ मा बिबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । देशको ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउने रानालाई उपसभामुखको पदमा पुर्याउनु भनेको सदनकै गरिमा बढाउनु हो भनेर आजकै संसद्मा उनको नाम प्रस्ताव गर्ने रास्वपाकी सांसद् सोविता गौतमले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !