७ बैशाख २०८१, शुक्रबार

सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र संघर्षका पर्याय


देवराज घिमिरे

झापा । प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकले उनलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन भएका थिए ।

झापा, अर्जुनधारा–६ निवासी घिमिरे विसं २०१३ जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजङघा गाउँपालिका–३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानका रूपमा जन्मिएका हुन् । गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।

काठमाडौँको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उहाँ तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिएका थिए । विसं २०३१ मा नेपाली कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर उनी विसं २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आबद्ध भई पार्टीको राजनीतिक काममा लागेका थिए । उनले पञ्चायती शासन विरुद्धको सङ्घर्षका क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोगेका थिए ।

विसं २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनलाई अघि बढाउँदै उनी भूमिगत राजनीतिकै क्रममा विसं २०३५ मा को–अर्डिनेसन कमिटी (कोके)को सदस्य बने । विसं २०३५ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता औपचारिक रूपमा प्राप्त गरेका हुन् । उनी ४४ वर्ष लामो राजनीतिक यात्रामा सरल, सङ्घर्षशील, इमान्दार र बेदाग राजनीतिज्ञको पहिचान बनाउन सफल छन् । उनी शीर्ष तहकै राजनीतिज्ञ भएर पनि लामो समयसम्म लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पुर्याएका त्यागी, अनुभवी र परिपक्व नेताको रूपमा परिचित छन् ।

सभामुख घिमिरे विसं २०५६ मा राष्ट्रियसभा सदस्य चयन भएका थिए । विसं २०७९ को आमचुनावमा पहिलोपल्ट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । नेकपा एमालेका जननेता मदन भण्डारीका सहयात्री घिमिरे मदन भण्डारी फाउण्डेशनको संस्थापकमध्येका एक नेता र झापाको सुखानी सहिद स्मृति पार्कको संस्थापक अध्यक्षसमेत हुन् ।

उनी विसं २०३५ मा नेकपा मालेको तेह्रथुम र पाँचथर जिल्लाको सङ्गठन विभाग प्रमुख, विसं २०३९ मा इलाम जिल्लाको सेक्रेटरी, विसं २०४९ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण पश्चात गठन भएको नेकपा (एमाले)को पाँचाँै राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए ।

घिमिरे विसं २०५० मा नेकपा (एमाले)को मेची अञ्चल इन्चार्ज, विसं २०५८ मा केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, विसं २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को अध्यक्ष भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !