७ बैशाख २०८१, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  रबिन्द्र अधिकारीको जीवनी


Rabindra Adhikari

पृष्ठभूमि र जन्म

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनबाट निर्वाचित सांसद रबिन्द्र अधिकारी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्छ ।

बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं. २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस-९ जामुनाबोटमा जन्मनुभएका रविन्द्र अधिकारीले बैबाहिक सम्बन्ध बिध्या भट्टराईसँग गास्नु भएको छ । बिद्यार्थी राजनीतिमा चर्चित अधिकारी र भट्टराईको बिद्यार्थी बीचकै प्रेम सम्बन्धलाई बिबाहमा बदल्नु भएको हो । बिद्यार्थी समयमा चर्चित नेताको रुपमा रहनु भएकी विद्या अहिले भने त्रिभुवन बिश्वबिधालयमा प्राध्यापन पेशामा हुनुहुन्छ । उहाँहरुका दुई छोराहरु छन् ।

शिक्षा र राजनीति यात्रा

उहाँले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको छ । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ । एशियाली बिद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगायत अन्तराष्ट्रिय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिनु भएको छ ।

राजनीतिमा संगठित हुँदा उनी सिर्फ १२ वर्षका हुनुहुन्थ्यो । २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए । सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस र क्लबहरुमा संलग्न हुनुभयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीबनमै प्रदर्शन गर्नु भएको थियो । जनतासँगको निरन्तर सम्पर्क र निकट अधिकारीले कास्की क्षेत्र नम्बर-३ बाट संविधानसभाको दुई पटककै चुनाव जित्नु भएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित अधिकारी हाल ओली सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पार्टी राजनीतिमा भने उहाँ २०४६ सालदेखि विशेष सक्रिय हुनुहुन्छ ।
पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन बिताउनु भएका अधिकारी प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासतमा रहनुभएको थियो । बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य भइ काम गर्नु भएको उहाँपछि एमाले कास्की जिल्ला कमिटीका सचिव हुँदै अध्यक्ष पनि बन्नु भयो । हाल नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल सरकारको मन्त्री हुनुहुन्छ ।

उहाँको राजनीति यात्रा यस प्रकार छ :

  • २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
  • प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
  • बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
  • २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
  • २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
  • २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
  • २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
  • २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
  • पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
  • २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
  • २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
  • २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।
  • २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
  • २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष ।
  • संविधान सभा २०६४ को सभासद ।
  • २०७० सालको संविधानसभा सदस्य ।
  • २०७० सालको चुनाबपछी संसदको बिकास समितिमा सभापति ।
  • २०७४ सालको निर्वाचनवाट प्रतिनिधिसभा सदस्य निर्वाचित ।
  • हाल नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ।

कृति/प्रकाशन

उहाँका प्रकाशित पुस्तकहरु यस प्रकार छन :
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन् ।

विदेश भ्रमण

अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !