७ बैशाख २०८१, शुक्रबार

यस्तो छ चोलेन्द्रका जेठान उद्योगमन्त्री गजेन्द्र हमालको नालीबेली

को हुन् उद्योगमन्त्री गजेन्द्र हमाल ?


चोलेन्द्र शमशेर जबरा र गजेन्द्र हमाल

पृष्ठभूमि : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् । प्रधानन्यायाधीश जबराको कोटाबाट हमाल मन्त्री बनेका हुन् ।

यद्यपि कांग्रेस पृष्ठभूमि रहेका हमाल हाल कांग्रेस क्रियाशील सदस्य मात्र हुन् । वर्तमान मन्त्रिपरिषदमा संसदबाहिरबाट मन्त्री बनेका उनी एक्ला हुन् । हमाल ओलम्पियन भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

चोलेन्द्रका आफन्त हमाल देउवा निकट

संसद बाहिरबाट मन्त्री भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेको छ । गजेन्द्र प्रधानन्यायाधीश राणाको पहिलेकी जेठी श्रीमतीको दाइ हुन् ।

राणाकी पहिलो श्रीमती उमा हमालकी साइली बहिनी हुन् । उनको स्टोभबाट आगो सल्किएर जलेर मृत्यु भएको थियो । उमाबाट राणाका एक छोरा र एक छोरी छिन् । हमाल पछिल्लो समय काठमाडौंमै सक्रिय थिए । गजेन्द्रका ज्वाइ चोलेन्द्र प्रधानन्यायाधीश भएपछि उनको काठमाडौं आउजाउ बाक्लिएको थियो ।

बाँकेको नेपालगञ्ज घरबारी टोलका स्थायी बासिन्दा हमाल लामो समयदेखि देउवानिकट रहेको बुझिएको छ । गैरसांसद हमाल नेपाली काँग्रेस बाँकेका नेता हुनुको साथै देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको बुझिएको छ ।

देउवानिकट तर कोइराला परिवार उपेक्षित राजनीतिक यात्रा

२०२७ सालमा नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष बनेका मन्त्री हमाल २०३१ सालमा नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षका लागि वागी उम्मेद्वार समेत बनेका थिए । २०५२ सालमा कांग्रेस बाँकेको सभापति रहेका ठाकुर देउवाले नेपाली कांग्रेस फुटाएर गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति रहेका थिए ।

२०४९ को स्थानीय निर्वाचनमा उनी नेपालगञ्ज नगरपालिकाको उपमेयर निर्वाचित भएका थिए । सुरेन्द्र २०४१ सालमा महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सचिव र पछि सभापतिमा निर्वाचित भएका थिए ।

विद्यार्थी संगठनबाट राजनीतिक सुरुवात गरेका हमाल देउवा निकट मानिन्छन् । उनी २०५२ सालमा नेपाली कांग्रेस बाँकेको पार्टी सभापति थिए । तर देउवा निकट भएकै कारण सुशील कोइरालाले हमाललाई पार्टी सभापतिबाट हटाएर आफू निकट कृष्णमान श्रेष्ठलाई सभापति बनाएका थिए ।

हमाल कांग्रेस विभाजन हुँदा देउवाको कांग्रेस प्रजातान्त्रिकमा थिए । बाँकेमा सुशील कोइरालाहरूको प्रभाव भएकोले हमाल उनीहरूसँग विवाद भएपछि देउवा गुटमा लागेका थिए । देउवा पक्षमा लागेर उनी बाँके कांग्रेसको सभापति पनि भएका थिए । उनी २०५७ सालमा कांग्रेसले १६ जना जिल्ला सभापतिहरूलाई कारबाही गर्दा उनी पनि कारबाहीमा परेका थिए ।

कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत नेताहरु नेपालगन्ज पुग्दा हमाल परिवारसँग उठबस हुन्थ्यो । त्यस बखत गजेन्द्र हमाल कांग्रेस नेताहरूसँगै हुन्थे ।

२०६४ सालमा देउवाको जोडबलमा बाके-१ बाट सांसदको टिकट पाएपनि गजेन्द्र संविधानसभा निर्वाचनमा माओवादी नेता तिलक परियारसँग पराजित भएका थिए । गजेन्द्र ३ पटक बाँकेबाट नेपाली काग्रेसको महासमिति सदस्यमा निर्वाचित भई सकेका छन् ।

काँग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उनी राजनीतिप्रति निराशा उत्पन्न भएर निष्क्रिय भएका थिए । यस्तै मन्त्री बनेका हमालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत पराजित भएका छन् । अहिले पनि उनी महाससमिति सदस्यमा चुनाव लड्ने तयारीमा छन् ।

पारिवारिक राजनीतिक पृष्ठभूमि

कांग्रेसका नेता भाइराजा हमाल परिबारका साइला भाई गजेन्द्र भाइराज पञ्चायतकालमा एक दशक भन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति भएका थिए । पञ्चायत विरोधी आन्दोलनमा ‘भाइराजा’ नामले परिचित रणेन्द्र हमालले बाँकेमा लामो समय कांग्रेसको नेतृत्व गरेका थिए ।

२०४४ सालको गाउँ पञ्चायत निर्वाचनलाई कांग्रेसले उपयोग गर्ने नीति लिएपछि गजेन्द्र र सुरेन्द्र दुवै उम्मेदवार भएका थिए । नेपालगञ्ज नगरपञ्चायतको वडा नम्बर ३ मा गजेन्द्र र वडा नम्बर १६ मा सुरेन्द्र उठेतापनि गजेन्द्र वडाध्यक्ष भएपनि सुरेन्द्र पराजित भएका थिए ।

दाइ केन्द्रमा मन्त्री भएपछि उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशमा मन्त्री बन्ने पक्का भएको छ । उनका भाइ सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन, वातावरण तथा भू-संरक्षणमन्त्री बन्ने पक्का भएको छ । शुक्रबार हुने भनिएपनि अन्तिम समयमा सुरेन्द्रको शपथ भोलि आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

राजावादी विवादित छवी

पछिल्लो समय उनी पार्टीको राजनीतिमा सबै अवसर गुमेपछि सामाजिक तथा धार्मिक काममा थिए । चुनाव जित्न नसके पछि गजेन्द्रले नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने अभियान नै चलाएका थिए ।

केही वर्षअघि उनले नेपालमा हिन्दुराज्य स्थापनाका लागि दवाव स्वरुप भारतबाट ठुलो संख्यामा साधुसन्त, महन्तलाई बोलाएर गाउँ-गाउँमा धार्मिक जागरण अभियान सुरु गर्नुका साथै नेपालगन्जमा जमघट पनि गराएका थिए ।

तर २०४० मा नेपालगन्जको त्रिभुवन चोकमा राजारानीको तस्बिर च्यातेपछि उनी चर्चामा आए । राजा विरेन्द्रको नेपालगञ्ज भ्रमणका बेला हात्तीबाट झिकेर राजारानीको तस्वीर च्यातेपछि उनी भूमिगत हुनुपरेको थियो ।

सर्वत्र आलोचना

केही दिन पहिले राणाले दुई जना मन्त्रीको कोटा मागेको समाचारहरु सार्वजनिक भएको थियो । राणाले दिपक तिमल्सिना र हमाललाई मन्त्री बनाउन खोजेको सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि तिमल्सिनापछि हटेका थिए भने हमाल उद्योगमन्त्री भएका हुन् ।

नागरिक समाजका तर्फवाट मन्त्री नबन्ने भएपछि प्रधानन्यायाधीश जबराको कोटावाट दिपक तिमिल्सिनालाई मन्त्री बनाउने भन्ने हल्ला चलाइयो ।तिमिल्सिनालाई मन्त्री बनाउने कार्ड फालेर प्रधानन्यायाधीश जबराले आफ्ना जेठान हमाललाई मन्त्री बनाएपछि सर्वत्र आलोचना भएको छ ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताएका थिए ।

प्रत्यक्ष निर्वाचन जितेका प्रभावशाली सांसदलाई छुटाएर शक्ति र सत्ताको आडमा मन्त्री बनाउँदा गलत सन्देश गएको भनेर काँग्रेसभित्रै प्रधानमन्त्री देउवाको समेत चर्को आलोचना भएको छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहले गैर संसदलाई मन्त्री बनाउनुको साटो काठमाडौँको निर्वाचित प्रकाशमान सिंह बाहेक एकजनालाई मन्त्री बनाएको भए राम्रो सन्देश जान्थ्यो भनेर प्रधानमन्त्री देउवाको कदमप्रति गुनासो व्यक्त गरेकी छन् ।

प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

हमाललाई देउवाको बचाऊ ब्रिफिङ

प्रधानमन्त्री देउवाले हमाललाई कांग्रेसको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएको भन्दै मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका थिए । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि हिजो शुक्रबार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले हमालको नियुक्तिबारे स्पष्टीकरण दिएका थिए ।

अदालतको समेतको भागबन्डा मिलाउन हमाललाई नियुक्त गरिएकोबारे सार्वजनिक रुपमा आएपछि देउवाले त्यसबारे आएका समाचारहरू सत्य नरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा कुनै भ्रममा नपर्न आग्रह गरे । हमालले कांग्रेसमा लामो समय योगदान गरेको भन्दै प्रधानमन्त्री देउवाले ब्रिफिङ गरेका थिए ।

मन्त्री पद ६ महिना

संवैधानिक व्यवस्था अनुसार मन्त्री नियुक्त भएको ६ महिनाभित्र सांसद नभएमा स्वतः मन्त्री पद खारेज हुने भएकोले हमाल ६ महिनामा सांसद बन्ने आधार नभएकोले उनी पदमुक्त हुने निश्चित जस्तै देखिएको छ । सांसद नै नभएका र बन्ने सम्भावना पनि नभएका हमाललाई देउवाले उद्योगमन्त्री बनाएपछि हमालको पृष्ठभूमिबारे सबैले चासो राख्दै उनको नियुक्तिप्रति सर्वत्र आलोचना भएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्र उद्योगमन्त्री बनेपछि सर्वत्र आलोचना

प्रधानन्यायाधीश जबराको कोटावाट गजेन्द्र हमाल आपूर्तिमन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !