१३ बैशाख २०८१, बिहिबार

नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ ?


पृथ्वीमान गुरुङ

चितवन। नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङको जन्म विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा भएको हो । गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गरे ।

विसं २०१८ मा चितवन झरेका गुरुङले विसं २०२४ मा जुद्धोदय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गरे । उनले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे ।

विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त भएका उनी त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा परे । विसं २०३६ को जनमत सङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रिय रूपमा लागेका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गरे ।

विसं २०४२ मा चितवन फर्किएका उनी नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त भए । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गरे । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उनी सुकुम्बासी आयोगको केन्द्रीय सदस्य भए । त्यतिबेला उनी नवलपरासीको इन्चार्ज थिए ।

नेपाली कांग्रेसको विभाजनसँगै उनी विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति बने । पार्टी एकता भएपछि सहसभापति बनेका गुरुङ त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील भए ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताए । कांग्रेसलाई सशक्त बनाउन उनी आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ । अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीन रूपमा कांग्रेसमा प्रतिबद्ध भएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु