संगीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख Nepalpatra संगीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख
३ कार्तिक २०७८, बुधबार

संगीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख


राम दियाली

इलाम । ‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका संगीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै थियो ।

शिक्षित भनिने नै विभेदमा लाग्थे भने नपढेका र कथित तल्लो जातका व्यक्ति सिकार बन्थे । एक दिनको कुरा हो, इलाम नगरपालिकाका दलित समुदायका राम दियालीसहित पाँच बालक सहपाठीसहित अध्ययनका लागि इलामको आदर्श माध्यमिक विद्यालय (हालको) पुगे ।

सदरमुकामको एक मात्र विद्यालयमा पढ्न पाउने धोको पूरा गर्न विद्यालय प्रवेश गरेका विद्यार्थीले कक्षामा पस्न भने पाएनन् । आफ्ना सहपाठी कक्षामा पढिरहेका थिए तर ती बालकलाई न कक्षामा बोलाइयो, न पढाउनलाई कुनै शिक्षक उहाँको नजिक आए ।

कक्षाकोठामा प्रवेश नपाएकामा कौतुहलता जागिरहेको थियो तर कारण पत्ता लागेन । एक दिन होइन, दुई दिन होइन, हरेक दिन त्यो व्यवहार दोहोरिरह्यो । “हामीलाई बाहिर किन राखियो थाहा भएन । धेरैदिन बाहिर राखेपछि घर गएर भन्यौँ”, दियालीले भने, “हिउँदको समयमा बाहिर बस्दाको पीडा कम भए पनि बर्खामा भने कष्टकर बन्दै गयो । खरले छाएको विद्यालय चुहिएर बाहिर बसेका विद्यार्थीलाई भिजाउन थाल्यो तर कक्षाकोठामा प्रवेश पाइएन ।”

परिवारलाई सुनाएपछि भने विद्यालय जानै बन्द भयो । विसं १९९५ मा इलाममै जन्मिएका दियालीको पारिवारिक आर्थिक स्थिति कमजोर थियो । पुख्र्यौली पेशाबाट आएको आनासुकीले परिवार पाल्न धौधौ हुन्थ्यो । परिवारमा विद्यालय शिक्षा अनिवार्य हो भन्ने छाप राम्रै परेको थियो ।

यसैको प्रभावले दियालीलाई विद्यालय पठाउने काम भयो । विद्यालयमा त्यो हदसम्मको हर्कत बेहोरे पनि दियालीलाई पढाउनका लागि अनेक विकल्प सोचियो । उहाँका बुबाले इलाम सदरमुकामकै एक घरमा पढ्ने वातावरण मिलाउनुभयो । करिब छ महिना पढेपछि देशकै राजनीतिक व्यवस्था उल्टियो ।

दियालीको वाद्यवादनतर्फको यात्रा

बाल मनोविज्ञानले आफूमाथि भएको विभेद नबुझे पनि उमेर बढ्दै जाँदा बुझ्न सक्ने बनायो । यसकै असरले दियालीलाई जीवनमा केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । उतिबेला फाट्टफुट्ट मात्र सङ्गीतकार र गायक हुने भएकाले दियालीलाई त्यतै तानिन मन लाग्यो ।

एकदिनको कुरा हो, दियालीले कसैले बाँसुरी बजाइरहेको देखे । एउटा बाँसको ठुटोबाट सुमधुर धुन निस्किरहेको देखेपछि दियाली त्यतैतिर तानिनु भयो । नजिक पुगेर हेर्दा एउटा बाँसमा केही खाल्डा पारिएको देखे । “बाँसबाट आएको आवाजले मलाई अचम्म लागिरहेको थियो ।

सामान्य चिज बाँसबाट पनि यस्तो आवाज आएको देख्दा जान्न मन लाग्यो”, दियालीले रासससँग भने, “त्यही देखेर घर गएर बाँसुरी बनाउन थालेँ । बाँसुरी बन्यो तर बजेन । अघि सुमधुर बजेको बाँसुरी र अहिले बजाएको बाँसुरी तुलनै नगर्ने किसिमको भयो । मलाई हुनसम्म तनाव भयो ।”

अब दियालीलाई खपिनसक्नु भएन । जसरी पनि बाँसुरी बजाउनु थियो तर कसरी बजाउने पत्तो थिएन । पहिले बाँसुरी बजेकै ठाउँमा दिनानुदिन धाउन थाल्नुभयो । ती व्यक्ति भेटिए पनि तर बाँसुरी बजाएको अवस्थामा भेटिएनन् । ती व्यक्ति थिए, तत्कालीन जिल्ला प्रशासन कार्यालयका बडाहाकिमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी ।

एक दिन नारायणस्थानबाट बजार जाने क्रममा दियालीसँग ती व्यक्तिको जम्काभेट भयो । दियालीसँग भेटमात्र भएन बोलचाल पनि भयो । यसै मेसोमा दियालीले बाँसुरी सिकाइ मागे । त्यस दिनको त्यो क्षणबाट दियाली बाँसुरी बजाउन थाले । जति बाँसुरी बज्दै गयो दियालीलाई बाँसुरीप्रतिको आशक्ति बढ्दै गयो । केही समयपछि दिदीभिनाजुसँग दियालीलाई भारतको दार्जिलिङ जाने अवसर मिल्यो ।

सङ्गीतको उर्वरभूमि दार्जिलिङमा केही समय बस्दैमा धेरै कुरा ख्याल हुँदै गयो । दियालीको लगाव देखेर चार आना भारुमा भिनाजुले बाँसुरी किनेर बिदा गर्नुभयो । दियालीको मन बाँसुरीमा मात्र होइन, हारमोनियमतिर पनि तानिन थाल्यो । सदरमुकाममै बसेर हारमोनियम बजाउने श्यामकृष्ण श्रेष्ठकोे ज्ञान र सीपले दियालीलाई हारमोनियम बजाउन आतुर पारेको थियो । समयान्तरमा श्रेष्ठकै सङ्गतमा दियालीले हारमोनियम पनि धेरथोक सिके तर भइ दियो के भने बाँसुरी बजाउन भने छाड्नु पर्ने भयो ।

“बाँसुरी बजाउँदा दाँत झर्ने, छाती दुख्ने समस्या हुने भनेर मलाई एक जना विद्वानले भन्नुभयो । साह्रै डर लाग्यो । अनि बजाउनै छाडिदिएँ”, दियालीले भने, “बाँसुरी छाडेँ तर हारमोनियम बजाउन थालेँ । सिक्ने ठाउँ पनि गज्जबकै थियो । अहिलेको इलाम बजारको एक घरमा पुरानो किसिमको हारमोनियम थियो । त्यही बजाउथ्यौँ ।”

वाद्यवादनमा जित, गायकीमा हार

बाँसुरीबाट साङ्गीतिक खुड्किला उक्लिएका दियालीले अनेक वाद्यवादन समाउन पाए । समाएर आफ्नो मन र स्रोतको मनोविज्ञान अनुसारको धुन निकाल्न सक्ने भए तर गायकी भने सुध्रिएन ।

वाद्यवादकसँगै असल गायक बन्ने दियालीको धोको कहिल्यै पूरा भएन । “बाह्र-पन्ध्र वर्षकै उमेरमा सिकेको भए हुने थियो । ठूलो उमेरमा सिक्दा गाउन सकिनँ । मैले एककिसिमले गायकीमा हारेँ”, उनले भने । स्वर बनाउनका लागि दियालीले अनेक प्रयत्न गरे । गायक अमर गुरुङ, जितेन्द्र बर्देवा लगायतलाई गुनासो पोखे तर भएन । अहिले पनि दियाली प्रयत्नरत छन् तर मिल्दैन ।

वाद्यवादन क्षेत्रमा दियालीको नाम अग्रपङ्क्तिमा आउँछ । उनकै कारण भाइ र छोरासमेत अहिले सङ्गीत क्षेत्रमा छन् । “बुबाकै कारणले अहिले सङ्गीतमा छु । बुबाको पूरा नभएको धोको पनि पूरा गर्ने योजनामा लागेको छु”, जेठा छोरा सुमनले भने, “म मात्र होइन भाइसहित हाम्रो परिवार पनि यसैमा छ । पहिले जस्तो असहज छैन । केही गर्न सकिन्छ कि ?”

फेरि जन्म होस् तर दलितको कोखबाट नहोस्

बाल्यकालमा विभेद खेपेका दियालीलाई समयान्तरमा पनि विविध विभेद आए । बालकमा जस्तो सिधै नभने पनि बङ्ग्याएर दियालीमाथि विभेदका स्वर खनिए । वाद्यवादक भए पनि दलित भएकाले अनेक जिम्मेबारीबाट हट्नुपरेको दियाली सुनाए । कुनै संस्थाको अध्यक्ष भएको भन्दै अस्वीकार गरे भने कहिले आफू उच्च पदमा हुँदा संस्था विघटन गरेको भन्दै विवादमा तानिनुपर्यो । कहिले भ्रष्टाचार गरेको आरोप लगाइयो भने कहिले संस्थाबाटै निकालियो ।

दियाली भने, “मेरो यो धर्तीमा फेरि जन्म भए दलितको कोखबाट चाहिँ नहोस् ।” कुनै बेला ‘देवकोटा प्रतिष्ठान’का अध्यक्ष हुनुहुन्थ्यो दियाली । राजाका कार्यक्रममा प्रोत्साहन गरेको आरोप लागेपछि सबै वाद्यवादनबाटै दियालीले हात धुनुपर्यो । “राजाको राज्याभिषेक गर्ने बेलामा काम गर्नुपर्यो भनेर सिडिओ साहेबले भन्नुभयो, मैले सक्दिनँ भन्दाभन्दै बाजा नभए हामी मिलाइदिन्छौँ भन्नुभयो र कार्यक्रम राखियो”, दियाली भने, “त्यसपछि फेरि अर्को संस्था जन्मियो देवकोटा कलाकुञ्ज, हामी खुसीले रमायौँ तर मलाई कार्यक्रममा प्रोत्साहन नगरेको पाएँ । अनि वाद्यवादनप्रति वितृष्णा पाएँ ।” अनेक समयमा विभेद सहनुपरेको दियाली सुनाउँछन् ।

इलाम प्रगतिशील साहित्य समाज काठमाडौँले २०६३ सालमा गरेको सम्मान चाहिँ उहाँको सबैभन्दा प्यारो छ । यो सम्मान दियालीका लागि सम्मान मात्र होइन, पारिश्रमिक समेत हो । उनको पहिलो पारिश्रमिक नै सम्मानबाट आएको रु एक हजार हो । उनी त्यसपछि भने अन्य संस्थाबाट पनि सम्मानित भए । उनी सनलाइट सङ्गीत विद्यालय तथा रेकर्डिङ स्टुडियो बिर्तामोड, फूलपाती कार्यक्रम आयोजक समिति बरबोटे, माउन्ट मेरिया वेन्ड देउराली लगायतबाट समेत सम्मानित भएका छन् ।

यस्तै २०५५ सालमा नारायण गोपाल स्मृति पुरस्कार, इलाम नगर (२०५५) बाट अभिनन्दित भए । यसैबीचमा दियालीले ‘व्यथा र अनुभूतिहरू’ नामक पुस्तक निकालेका छन् । गीतीकविता सँगालोमा दियालीको भोगाइ र गीत छन् । यस्तै दियाली गत वर्ष इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानबाट समेत पुरस्कृत भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !