६ बैशाख २०८१, बिहिबार

‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता सन्तोष साह : ‘करजन्हादेखि लण्डनसम्म’


सन्तोष साह

सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिनुभएका सेफ सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा ? उहाँ तिनै नेपाली भान्से हुनुहुन्छ जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता बन्नुभयो ।

आज विश्वभर सेफ साहको चर्चा चुलिएको छ । प्रतियोगितामा पाककलामा उत्कृष्ट प्रदर्शन गर्दैसाह चर्चित बन्नुभयो । उहाँले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई उँचो बनाउन भूमिका खेल्नुभयो ।

संसारभरका १०१ प्रतिस्पर्धीले भाग लिएको प्रतियोगिताको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि हुनुहुन्थ्यो । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिनुभएका साह दोस्रो बन्नुभयो ।

उहाँले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुल्नुभएको थियो । चार महिना चार दिन अवधिको सोमा साहले शुरुदेखि अन्तितसम्म निर्णायकको मन जित्न सफल हुनुभयो । प्रतियोगिता अवधिभरका सबै खानाका परिकार आकर्षक भएकाले सफलता मिलेको साहको भनाइ छ ।

विश्वचर्चित सञ्चारमाध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । विश्व बजारमा नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाउनुभएका साहले खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउनका लागिपर्ने राससलाई बताउनुभयो । उहाँले बेलायतमा छिट्टै रेष्टुरेण्ट सञ्चालन गर्ने र नेपालमा पनि खोल्ने योजना बनाउनुभएको छ ।

साह भन्नुहुन्छ, “जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म प्लाष्टिकको झोला र पाउरोटी बेच्थेँ, त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।” उहाँ आफ्नी आमा सुमारीदेवीलाई भेट्न छिट्टै जन्मघर करजन्हा जाँदै हुनुहुन्छ । उहाँ नेपालका विभिन्न शहरमा प्रेरणास्पद प्रवचन दिन पनि जाने कार्यक्रम छ ।

उहाँले ‘फुड इन हाइजिन’ लाई ध्यान दिएर विदेशी पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न सके नेपालको लागि फाइदा पुग्ने बताउनुभयो । देशभित्र भान्से र खानाले महत्व नपाएका अवस्थामा यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताउनुभयो ।

उहाँले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताउनुभयो ।

साहको सङ्घर्ष

करजन्हा–४ को सामान्य किसान परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनी गरी सातमध्ये सबैभन्दा कान्छा उहाँ करजन्हादेखि लण्डनसम्मको सङ्घर्ष र सफलताको जीवन यात्रामा अनेकन आयाम छन् । साहकै भाषामा, “म जस्तो भान्सेले यत्तिको सफलता पाउँछ भन्ने सोचेकै थिइन तर अदम्य साहस र निरन्तरताको लगावले मलाई सफलतातिर डोर्यायो ।” उहाँका केही दाजुभाइमध्ये भारत र अन्य देशमा व्यापारव्यवसायमा संलग्न छन् ।

पाँच वर्षको उमेरमै बुबा सीताराम सुडीको साथ गुमाउनुभएका साहले १० वर्षको उमेरदेखि काम गर्न थाल्नुभएको थियो । सिरहा बजारमा प्लाष्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उहाँसँग अनुभव छ । नेपालमा कक्षा १० सम्म अध्ययन गर्नुभएका ३५ वर्षीय साह एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुग्नुभयो ।

उहाँले अहमदावादको एक रेष्टुरेण्टमा भाडा माझ्ने काम शुरु गर्नुभयो । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव उहाँले सम्हाल्नुभयो । कामकै सिलसिलामा पकाउन सिक्नुभयो, अनि अङ्ग्रेजी भाषाको ज्ञान लिनुभयो । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उहाँ एक पाँचतारे होटलको सेफ बन्नुभयो ।

सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गर्नुभयो । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीका सहयोगीले साहलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उहाँ सन् २०१० मा बेलायत जानुभयो र एक रेष्टुरेण्टमा काम गर्नुभयो । बेलायतकै ललित होटल र भारतको बनारसमा समेत उहाँले काम गर्नुभयो । दुःख, सङ्घर्ष र सफलताले साहको जीवन बदलिएको छ ।

गुजरातदेखि लण्डनसम्म

साहले भारतको लायन हिल्स रिसोर्टमा १६ महिना काम गर्नुभयो । शुरुमा पाँच महिना भाँडा धुने काम गर्नुभयो, त्यसपछि सेफ बन्ने अवसर पाउनुभयो । सोही समयमा उहाँले तन्दुरीको काम सिक्नुभयो । अर्को रेष्टुरेण्टमा काम गर्ने अवसर उहाँलाई मिल्यो । कामका दौरानमै साहले भारतको चेन्नइबाट अङ्ग्रेजी भाषा र कम्प्युटर कोर्स गर्नुभयो ।

भारतमा अनुभव बटुलेपछि बेलायतको राजधानी लण्डन पुग्ने अवसर उहाँलाई जुट्यो । लण्डनमा ‘दि स्पाइसी अफेयर्स’ रेष्टुरेण्टमा सेफका रुपमा उहाँले काम गर्नुभयो । एक वर्षका अवधिमा अरु दुई रेष्टुरेण्ट परिवर्तन गर्नुभयो । बनारस भन्ने रेस्टुरेन्टमा तीन वर्ष काम गर्नुभयो । हाल उहाँ ‘सिनामन ग्रुप’ अन्तर्गतको रेष्टुरेण्टमा काम गर्नुहुन्छ । लण्डनमा साततारे होटलभन्दा रेष्टुरेण्टको सेफको ‘भ्यालु’ हुन्छ ।

साह पाँच भाषामा आफ्नो कामकोे अनुभव समेटी पुस्तक प्रकाशन गर्दै हुनुहुन्छ । पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । उहाँले खानाको विश्वव्यापी मार्गचित्र बनाइएको जनाउँदै लण्डनबाटै प्रवचन शुरु गरिने जानकारी दिनुभयो । सरसफाइ र स्वच्छतालाई अभियानकै रूपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ भन्ने उहाँको ठम्याइ छ ।

अन्तिम प्रतिस्पर्धामा भान्से साहले राँगाका मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किनुभएको थियो । खानासँगै उहाँले नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गर्नुभएको थियो ।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ साहको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उहाँलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किनुभएका साह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल हुनुभएको छ ।

“म सिम्पल खाना बनाउँछु, नेपालीहरु अति नै सिम्पल छौँ, नेपालीपन नेपाली मनका साथ मौलिक खानाको परिकारको प्रस्तुतिले मेरो सफलता मिलेको हो”, नेपाली भान्से साहले भन्नुभयो । उहाँको विचारमा नेपालीको विशेषता नै सरलीकृत जीवनशैली हो र आतिथ्यका क्षेत्रमा नेपालीले मात्रै विश्वलाई जित्न सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !