१३ बैशाख २०८१, बिहिबार

को हुन् नवनियुक्त अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई ?

यस्तो छ नवनियुक्त अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईको जीवनी


प्रेमकुमार राई

पृष्ठभूमि : राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गरेकी छन् । उनले राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै नक्साल टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् ।

राईसँगै आयुक्त किशोर कुमार सिलवाल र जय बहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

जन्म र शिक्षा

२०१८ सालमा संखुवासभा जिल्लाको खोरन्डे गाउँमा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका राईले संखुवासभाको खाँदबारीस्थित हिमालय माविवाट २०३५ सालमा एसएलसी पास गरे । एसएलसी पास गरेपछि उनी उच्च शिक्षका लागि काठमाडौं आएर २०३६ सालमा शंकरदेव क्याम्पसमा आई.कममा भर्ना भए । तर, त्यो बेला आन्दोलनका कारण २०३९ सालमा मात्रै आइकम पास गरे । मिनभवन क्याम्पसबाट वि.कम गरे भने २०४५ सालमा शंकरदेव क्याम्पसबाट उनले एमबिए पास गरे ।

सरकारी सेवा

उनले अध्ययनकै क्रममा २०४० साल साउन १ गते सरकारी जागिर लेखापालमा नाम निकाले । घरबाट खर्च पढाउन समस्या भएपछि उनले जागिरको बाटो रोजेका थिए । महालेखा परीक्षक अन्तर्गतको जागिर गर्दा उपत्यका बाहिर जान नपर्ने र काम सकिएपछि पढ्ने समय पनि पाइने भएका कारण उनले त्यो जागिर रोजेका थिए ।

सोही क्रममा उनले २०४४ सालमा शाखा अधिकृतमा नाम निकाले । उपसचिवका लागि २०४९ सालमा लिखित प्रतिस्पर्धामा पनि राईले नाम निकाले । सहसचिव हुँदा अख्तियारमै बसेर लामो समय काम गरेका राई कम विवादित व्यक्ति मानिन्थे ।

सचिव भएर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारीमा काम गरे ।

२२ महिना गृहसचिवको जिम्मेवारी सम्हालेका राईले गृहसचिवका रुपमा २०७६ साल माघ २२ गतेबाट अनिवार्य अवकाश पाउने भएपनि त्यसको ३ दिनअगाडि २० माघदेखि लागु हुनेगरी सरकारले उनको राजीनामा स्वीकृत गरेको थियो ।

गत मंसिर ३० को बेलुकी ५ बजेपछि बसेको संवैधानिक परिषद्को बैठकले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सोहि आधारमा राष्ट्रपति भण्डारीले उनलाई आज उक्त आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेपछि उनले आजै कार्यभार सम्हालिसकेका छन् ।

प्रधानमन्त्री ओलीदेखि गृहमन्त्री थापासम्मको विश्वास जित्न सफल

राई प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त नजिकका विश्वासपात्र हुन् । पदमा बहाल रहँदा निजामती प्रशासकबीच ‘पोलिटब्युरो सचिव’ भनेर व्यंग्य गरिने उनी गृहसचिव हुँदै अख्तियारको प्रमुख आयुक्त नियुक्त भएका छन् । राईले गृहसचीव हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सम्मको विश्वास जित्न सकेका प्रशासकको रुपमा उनलाई हेरिन्थ्यो ।

राईलाई लाग्ने गरेको आरोप

राईका लागि प्रमुख आयुक्त पद नसुहाउने टिप्पणी पनि हुने गरेको थियो । पूर्वसचिव राई आयल निगमको जग्गा र नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा मुछिएका थिए । राईकै कारण नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरिदको घोटलामा भएको भ्रष्टाचारको छानविन गर्न ढिलो गरेको आरोप लाग्ने गर्छ ।

राई आपूर्ति सचिव हुँदा आयल निगमले भैरहवा, चितवन, सर्लाही, झापा लगायतका जिल्लामा डेढ अर्व भन्दा बढिको जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिको अध्यक्षमा थिए – पूर्व आपूर्ति सचिव प्रेमकुमार राई । कार्यान्वयन गर्ने खड्का भ्रष्टाचारमा तानिए तर निर्णय गर्ने राईमाथि भने कुनै छानविन नभएको भनेर विपक्षीले उनलाई आरोप समेत लगाउने गर्छन् ।

अख्तियारको सचिवमा राई छँदा खड्कामाथि लागेको भ्रष्टाचारको मुद्दा अगाडि बढाउन समेत उनले आफूपनि तानिने डरले नदिएको भन्ने आरोप उनलाई लाग्ने गर्छ । यसरी भ्रष्टाचारीलाई बचाउने राई आफै अख्तियारको प्रमुख बनेर आउँदा कति भ्रष्टाचारीहरुले उन्मुक्ति पाउलान ? अख्तियार भित्रकै कर्मचारीहरु प्रश्न गर्छन् ।

अख्तियार उच्च स्रोतका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुक नै लकडाउनले ठप्प भएका बेला गत असारमा अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका पूर्वसचिव राईलाई संसद्को लेखा समितिबाट जोगाइएको थियो । २०७५ पुस २० गते समितिको बैठकमा प्रधानमन्त्री ओलीनिकटका सांसदहरूले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउनुपर्ने आवाज उठाएका थिए ।

राईले गरेको राम्रो कामको प्रशंशा

प्रेमकुमार राईले गृहसचिवका रुपमा २०७६ साल माघ २२ गतेबाट अनिवार्य अवकाश पाए । उनले अवकाश पाएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरुसहित १७५ जनामाथि मुद्दा दायर गर्यो ।

राईले नै ललिता निवास जग्गा प्रकरणमा चासो लिएर अनुसन्धान गर्न लगाएका थिए । उनकै निर्देशनमा नेपाल प्रहरीको सीआइबीलाई अनुसन्धानको महत्वपूर्ण पाटोको जिम्मा दिइएको थियो । राईले यो मामलामा निकै चासोका साथ कदम चालेका थिए । त्यसैले पनि उनी अवकाश नहुँदै अख्तियारले यो विषयमा मुद्दा दायर गरेको हुनसक्छ ।

राईकै पहलमा बालुवाटारको एक सय १३ रोपनी सरकारी जग्गा छानबिन भएको थियो । उनले राजीनामा दिनुअघि बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसमेत बुझाएको छ । सरकारी जग्गा अपचलनको यो छानबिन प्रक्रिया गृहसचिव राईले सुरू गरेका थिए ।

यो पनि पढ्नुहोस्

राईले कार्यभार सम्हाले, किन दिँए अख्तियारका कार्यवाहक प्रमुख जोशीले राजीनामा ?

यसरी गराइयो संवैधानिक निकायका पदाधिकारीहरुले शपथग्रहण (फोटो फिचर)

संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुले लिए शपथ

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षले जनाए आपत्ति

सभामुख सापकोटाले फिर्ता गरिदिए संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस

किन सिफारिस गरे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखमा प्रेम कुमार राईलाई ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !