१३ बैशाख २०८१, बिहिबार

को हुन् अमेरिकाको पहिलो महिला उपराष्ट्रपति भएकी कमला ह्यारिस ?


कमला ह्यारिस

एजेन्सी, कार्तिक २२ । अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन् । यो जितसँगै डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । उनी कालो जातिबाट पहिलो र अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुने महिला हुन् ।

कमला ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा भएको हो । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् । इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । तर पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटेकी थिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण उनी समाचारका शीर्षकहरुमा रहेकी थिइन् । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेकी थिइन् ।

उनी भारतीय-जमाइका मूलकी हुन् । क्यलिफोर्नेयाको पुर्वमहाधिवक्ता कमलाले प्रहरी प्रशासनमा सुधार तथा जातीय भेदभाव विरुद्धको आन्दोलनमा पनि प्रदर्शनी गरेकी छिन् । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी छिन् ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् ।

अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो ।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन् ।

हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरिन् । सानफ्रान्सिस्को बोर्ड अफ सुपरभाइजरकी पूर्व सदस्य सोफी म्याक्सवेलका अनुसार कमलाले सडक अभियानलाई निरन्तरता दिन त्यसमा कानुनको ज्ञान पनि जोड्न चाहिन् जसले एकअर्कालाई परिपूरकको काम गर्थ्यो।

वासिङटन डिसीस्थित होवार्ड विश्वविद्यालय पढ्दाकी सहपाठी सेली योंग थम्पकींग्स अहिले पनि कमलालाई सम्झिन्छिन् । उनका अनुसार कमला त्यतिबेलै जीवनमा आफूले गर्न चाहेका कुराप्रति दृढ थिइन्। उनी पढाइमा गम्भीर थिइन्। विरोध र प्रदर्शनका निम्ति जसोतसो समय निकाल्ने गरे पनि अन्तिम वर्षको परीक्षा नसिद्धिएसम्म उनले कलेज जीवनका रमाइला पनि बिर्सेर एकाग्र भई पढेकी थिइन् । त्योबेला सेली र कमला दुवैले ‘स्टुडेन्ट काउन्सिल’को पदाधिकारीमा जितेका थिए।

त्यसपछि कमलाको कथा झनै धेरैलाई थाहा छ। उनी ‘ल स्कुल’ पढ्न क्यालिफोर्निया फर्किएदेखि ओकल्यान्ड र सानफ्रान्सिस्कोस्थित वकिलको कार्यालयमा कानुनी पेसा अपनाउने पहिलो प्रयासमा असफलता हात लागेकोसम्म।

जिल्लाको सरकारी वकिलका रूपमा आफ्ना हाकिमलाई पनि परास्त गरेर सफलतापूर्वक कार्यसम्पादन गरेको, राज्यकै महान्याधिवक्ताका रूपमा चयन हुँदै अमेरिकी सिनेटरदेखि एकपटक त राष्ट्रपतिकै निम्ति गरेको प्रयाससम्म जुन प्रारम्भिक चरणमै भंग भएको थियो।

यो पनि पढ्नुहोस्
जो बाइडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित
को हुन् अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित जो बाइडेन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !